Hamro Patra
बेपत्ता जैशीको शव भेटियो, बुढाको अवस्था अज्ञात
Khadga Memorial And Janajagriti

टीकापुर, असार ४

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१ का ३३ वर्षीय दीपकप्रसाद जैशी आज मृत अवस्थामा भेटिएका छन । इलाका प्रहरी कार्यालय टीकापुरका अनुुसार जानकी गाउँपालिका–६ जगतपुर नजिकै नदीमा अड्किएको अवस्थामा जैशीको शव भेटिएको हो । उनी लम्कीचुहा नगरपालिका–३ चिसापानी नजिकै नदीमा नुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएका थिए । स्थानीयले नदीको बिच भागमा शव अड्किएको खबर दिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीयको सहयोगमा शव नदी किनारमा ल्याएको छ । प्रहरीले नदीमा शव अड्किएको बारेमा बेपत्ता जैशीका आफन्तलाई खबर गरेर बोलाएको थियो । उनका आफन्तले शवको सनाखत गरेको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । मृतकको औंलामा रहेको औँठीका आधारमा आफन्तले शव सनाखत गरेका छन ।

उता कर्णाली नदीमै बेपत्ता भएका मोहन्याल गाउँपालिका–३ साँगाका ३८ वर्षका चक्रबहादुर बुढाको अवस्था अज्ञात छ । उनी नुहाउने क्रममा असार २ गते बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरिक्षक दीर्घ बोगटीले बेपत्ता बुढाको खोजी कार्य जारी रहेको बताएका छन । कर्णाली नदीमा नुहाउने क्रममा वर्षेनी थुप्रै व्यक्तिले ज्यान गुमाउने गरेका छन । प्रहरीले चिसापानी पुल आसपासका क्षेत्रमा नदीमा नुहाउन प्रतिवन्ध लगाएको छ । स्थानीयले लुकीछीपी नुहाउने गरेको पाईन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update