Hamro Patra
सुदूरपश्चिम सरकारको बजेट : टीकापुरमा सरुवा रोग अस्पताल बन्ने

टीकापुर, असार १
टीकापुरमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । टीकापुर अस्पताल परिसर भित्र सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड लागतमा केन्द्रको स्थापना हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सो कुरा उल्लेख छ । केन्द्र स्थापनासँगै टीकापुरमा सरुवा रोग विशेषज्ञ टिम बस्नेछ । यसले सुदूरपश्चिम प्रदेशमा देखा पर्ने सरुवा रोगका बारेमा अध्ययन अनुसन्धान गर्ने बताईएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालका लागि १० शैयाको महामारी संक्रमण उपचार भवन निर्माण गर्ने भएको छ । सरकारले टीकापुर लगायत सुदूरपश्चिमका छ ठाउँमा आइसुलेसन भवन निर्माण गर्ने भएको छ । जसका लागि सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Khadga Memorial And Janajagriti

अस्पतालको स्वास्थ्य सेवामा उल्लेख्य सुधार हुने गरी बजेट विनियोजन भएको अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिए । उनले चालु आव भित्रै सबै काम सम्पन्न हुने बताए । ‘अस्पतालले सेवा सुविधामा फड्को मार्नेछ’ उनले भने–‘यो वर्ष भित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ ।’

सुदूरपश्चिम सरकारले आगामी आवमा प्रदेशको स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवं सेवा सुधारका लागि ३ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारका आर्थिक मामिला मन्त्री झपट बोहराले आगामी आवका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन । जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख रहेको छ ।

प्रदेश सरकारले स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको छ । सरकारले नौवटै जिल्लाका सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिँचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update