Hamro Patra
भारतबाट आइपुगे डल्फिन

टीकापुर, ३१ जेठ

एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका नदीसम्म आइपुगेका छन् । भारतको घाँघरा नदी हुँदै आएका डल्फिनहरु कैलालीको मोहना, पथरैया र काँडा नदीमा शनिवार देखिएका छन् । विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन ती नदीहरुमा वर्षायाममा मात्रै आउने गरेका छन् । अन्य वर्षहरुमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका हुन् । असारदेखि असोजको महिनासम्म यी नदीहरुमा डल्फिन सजिलै देख्न सकिन्छ ।

Khadga Memorial And Janajagriti

शनिवार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए । ‘आज दिउँसो दोभानमा दुई वटा डल्फिन देखा परेका छन्’ ढुंगानाले भने ‘स्वच्छ र कम गहिरो हुने हुनाले बच्चा हुर्काउन वर्षेनी डल्फिनहरु भारतबाट यहाँ आइपुग्छन् ।’नदीमा पानीको सतह बढेसँगै मोहना, पथरैया र काँडा नदीमा वर्षायाममा डल्फिनहरु देखा पर्ने गर्दछन् । भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिनहरु यस वर्ष जेठमै आइपुगेको स्थानीय नरेन्द्रराज रेग्मीले बताए । विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनीका स्थानीयहरु जुट्दै आएका छन् ।

खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यटहरु आउने गरेका छन् । ‘खाली आँखाले समेत नजिकैबाट डल्फिन हेर्न सकिने हुनाले यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन्’–ढुंगानाले भने–‘तर कारोना संन्त्रासका बीच बाह्य पर्यटक नआए पनि आन्तरिक पर्यटकहरु आउने छन् । यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्टे«लिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटकहरु आउने गरेका थिए । स्थानीयले मान्छा भन्दै मारेर खाने गरेको डल्फिनबारे २०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा संरक्षण अभियान थालिएको थियो ।


प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update