Hamro Patra
कोरोनाविरुद्ध स्थानीय तहको सामुहिक प्रयासः ३० बेडको आइसोलेश

टीकापुर, २८जेठ
कोरोनाको महामारीबाट त्राहिमाम चलिरहेका बेला कैलालीको पूर्वी क्षेत्रका छ वटा स्थानीय तहहरु कोरोना विरुद्ध सामुहिक प्रयासमा जुटेका छन् । स्थानीय तहहरुले सामुहिक लगानीमा टीकापुरमा रहेको सिटी हललाई ३० बेडक्षमताको आइसोलेसन वार्ड संचालन गर्दै कोरोना विरुद्ध सामुहिक प्रयास गरेका हुन्कोरोना संक्रमितहरुको संख्या दिनप्रति बढ्दै जाँदा संक्रमितहरुलाई विशेषज्ञ डाक्टरसहितको सेवा दिनका लागि स्थानीय तहहरुले सामुहिक लगानीमा टीकापुर सिटी हललाई आइसोलेसन वार्डका रुपमा संचालन गरेका छन् ।

टीकापुर अस्पतालको समन्वयमा कैलालीका पूर्वी क्षेत्रका टीकापुर, लम्की चुहा र भजनी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाले संयुक्त रुपमा आइसोलेसन वार्ड संचालन गरेका हुन् । टीकापुर अस्पतालमा रहेको १२ बेडको आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिएपछि टीकापुर नगरपालिकाका ४ जना र जानकीका २ जना कोरोना संक्रमितहरुलाई क्वारेन्टिनमै राखिएको छ । आइसोलेसन वार्डको अभाव भएर कोरोना संक्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता आएपछि ती स्थानीय तहहरुले संयुक्त रुपमा ३० बेडको आइसोलेसन वार्ड संचालनमा ल्याएका हुन् । टीकापुर अस्पतालसँगको सहकार्यमा जनशक्ति र आर्थिक व्ययभार व्यवस्थापन गर्ने गरी आइसोलेसन वार्ड संचालनमा ल्याइएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।

Khadga Memorial And Janajagriti

‘टीकापुर अस्पतालको आइसोलेसन बार्ड संक्रमितले भरिएको छ, हामीसँग डाक्टरसहितको आइसोलेसन छैन, संक्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता आयो’ अध्यक्ष चौधरीले भने ‘त्यसकारण हामीले यस क्षेत्रका स्थानीय तहहरुको सहकार्यमा जनशक्ति र आर्थिक व्यवभार व्यवस्थापन गर्ने गरी आइसोलेसन संचालन गरेका हौं ।’कोरोना संक्रमित पोजेटिभ हुँदा विरामीलाई कहाँ राख्ने भन्ने तनाव हुने गरेको बताउँदै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले नगर विकास समिति टीकापुर मातहत रहेको सिटीहललाई आइसोलेसन बार्ड बनाइएको बताए । ‘सेती प्रादेशिक अस्पतालले यता नल्याउनु भन्छ, हाम्रो अस्पतालमा १२ बेड मात्रै राख्न सकिन्छ’ नगर प्रमुख रावलले भने ‘कोरोना विरुद्ध एक भएर लड्नका लागि हामीले सामुहिक रुपमा संचालन गरेका हौं ।’आइसोलेसन वार्डमा ३० वटा बेड व्यवस्थापन गरिएको छ । सिटी हलको भुइँतलामा २० वटा र माथिल्लो तलामा १० वटा गरी ३० बेड व्यवस्थापन गरिएको हो । महिला र पुरुष संक्रमितहरुका लागि फरक फरक वार्डसहित आइसोलेसन संचालनमा ल्याइएको हो ।

सिटी हललाई आइसोलेसन वार्डका रुपमा संचालन गर्दा टीकापुर अस्पतालमा अन्य विरामीहरुको उपचार समेत सहज हुने टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताए । ‘दैनिक ५ शय बढी विरामी आउने टीकापुर अस्पतालमा कोरोना संक्रमित राख्दा संख्या घटेको छ, उपचारमा समेत समस्या छ’ डाक्टर कँडेलले भने ‘सिटीहलमा छुट्टै आइसोलेसन संचालन हुँदा विरामीलाई सेवा दिन समेत सहज हुनेछ ।’टीकापुर अस्पताल व्यवस्थापन समितिले यसअघि छ वटै स्थानीय तहहरुसँग सर्वपक्षीय बैठक गरेको थियो । टीकापुर अस्पतालमा रहेका १२ वटा आइसोलेसन बेड संक्रमितले भरिएपछि स्थानीय तहहरुसँगको समन्वयमा टीकापुर सिटी हललाई ३० बेडको आइसोलेसन वार्ड बनाइएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलले बताए । ‘कोरोना संक्रमितहरुलाई टीकापुर अस्पतालमा राख्न सकिने अवस्था भएन’रावलले भने ‘व्यवस्थापन टीकापुर अस्पतालले नै गर्ने गरी सबै स्थानीय तहहरुको आर्थिक सहयोगमा संचालन गरिएको हो ।’टीकापुर अस्पतालमा संक्रमितहरुलाई राख्ने ठाउँ नभएपछि कैलालीको पूर्वी क्षेत्रका कोरोना संक्रमितहरुलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाउनु पर्ने बाध्यता थियो ।

कैलालीको पूर्वी क्षेत्रमा हालसम्म टीकापुर नगरपालिकाका ८ जना, भजनी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका ७ जना र लम्की चुहा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । लम्की चुहाका दुई जना, र जानकी गाउँपालिकाका ५ जना भने कोरोना जितेर घर फर्किसकेका छन् । स्थानीय तहहरुले एक्ला एक्लै आइसोलेसन वार्ड संचालन गर्न निकै खर्चिलो हुने भएकाले संयुक्त रुपमा संयुक्त रुपमा संचालन गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update