Hamro Patra
आम्दानीको स्रोत बन्दै बेत कटाई

योगेश रावल
टीकापुर, २८ चैत
टीकापुर नगरपालिकास्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको बेत कटाई धेरै उपभोक्ताका लागि आम्दानीको स्रोत बनेको छ । वनले विगत एक महिनादेखी बेत कटाई खुल्ला गरेको छ ।


दिनहुँ सय भन्दा बढी उपभोक्ताले बेत काट्दै आएका छन । उनीहरुले दैनिक प्रति व्यक्ति ५ सयदेखी एक हजारसम्म कमाउने गरेका छन । वनले उपभोक्तालाई बेत काटे वाफत प्रतिकेजी ९ रुपैयाँ दिने गरेको छ ।
वनले उपभोक्ताले काटेको बेत आफै ढुवानी गरेर संकलन गर्ने गरेको छ । कतिपय उपभोक्ताले भने आफूले काटेको बेत आफै बोकेर घाटगद्दीस्थल सम्म पु¥याउने गरेका छन ।


‘हामीले कसले कति बेत काट्यो भनेर दैनिक रेकर्ड राख्छौं । सोही अनुसार एक हप्तामा भुक्तानी दिन्छौं’ व्यवस्थापक मीनबहादुर ठकुल्लाले भने–‘उपभोक्ताका लागि बेत कटाई राम्रो आम्दानीको स्रोत बनेको छ ।’

Khadga Memorial And Janajagriti


कोही दिनभर बेत काट्छन भने कोही दिउसो मध्यान्हसम्म मात्रै काट्छन । टीकापुर नगरपालिका–८ की नामसरा धामीले दिउसो मध्यान्हसम्म मात्रै बेत काट्ने गरेको बताईन । उनले बिहान ७ बजेदेखी १२ बजेसम्ममा झण्डै ८० केजीसम्म बेत काट्ने गरेको बताईन ।


टीकापुर नगरपालिका–७ की गौमती कामीले भने दिनभर बेत काट्ने गरेको बताईन । उनले दिनभरीमा करिव डेढ क्विन्टलसम्म बेत काट्ने गरेको जानकारी दिईन । ‘आजकाल घरमा खाशै काम छैन’ उनले भनिन्–‘दिनभर बेत काट्न पाएपछि आम्दानी भैरहेको छ ।’


कसैले एक्लै बेत काट्छन । कसैकसैले भने घरका सबै सदस्य मिलेर काट्ने गरेका छन । घरपरिवारका सबै सदस्य मिलेर बेत काट्दा सजिलो हुने स्थानीय सीताराम चौधरीको अनुभव छ । उनका श्रीमती र छोरा समेत बेत काट्ने काममा संलग्न छन । उनीहरुले एकैदिनमा ४५० केजीसम्म बेत काट्ने गरेका छन । ‘एउटाले काट्यो अर्कोले भारी तयार पा¥यो’ चौधरीले भने–‘सामुहिक काम गर्दा निकै सजिलो हुन्छ अनि धेरै पनि काट्न सकिन्छ ।’

वन क्षेत्रमा बेत काटेर राम्रो आम्दानी गर्ने यी प्रतिनिधि पात्र मात्रै हुन । धेरै व्यक्तिहरुले बेत काटेर भएको आम्दानीबाट घरखर्च चलाएका छन । यतिबेला स्थानीयसँग खेतीपाती लगायत खाशै अन्य कामकाज हुँदैन । यो बेला स्थानीय निकै फुर्सदिला छन ।


स्थानीयको फुर्सदको मौका छोपेर वन समूहले बेत काट्ने समय जुराएको थियो । यही फुर्सदको समयलाई सदुपयोग गरेर थुप्रै स्थानीय बेत काट्नमा संलग्न छन । ‘स्थानीयले काम पनि पाउने र आम्दानी पनि हुने भएर फुर्सदको मौका छोपेका हौं’ वनका अध्यक्ष धनसिँह साउँदले भने–‘उपभोक्ताका लागि बेत कटाई राम्रो आम्दानीको स्रोत बनेको छ ।’


वनले २०५७ सालदेखी बेत उत्पादन सुरु गरेको हो । त्यस यता हरेक वर्ष बेत काटेर बेच्दै आएको छ । यो वर्ष वनले २ लाख ८६ हजार केजी काचो बेत काट्ने लक्ष्य राखेको छ । तर वनका व्यवस्थापक ठकुल्लाले साढे तीन लाख केजी काचो बेत काटिने सम्भावना रहेको बताए । उनले जसमध्ये हालसम्म अढाई लाख केजी काचो बेत काटिसकेको जानकारी दिए ।


काचो बेतलाई केही दिन घाममा सुकाउनु पर्छ । यसरी घाममा सुकाएपछि बेतको तौल घट्छ । औशतमा काचो बेतको तीन भागको एक भाग मात्रै तौल बच्ने गरेको व्यवस्थापक ठकुल्लाले बताए । उनले सामुदायिक वनको १४७ हेक्टरमा बेत उत्पादन गरेको जानकारी दिए । वनले सो क्षेत्रलाई चार भागमा विभाजन गरेको छ । वनले हरेक वर्ष एक भागको बेत काट्ने गर्छ । बेत काट्नका लागि तयार हुन पाँच वर्ष लाग्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update