Hamro Patra
निर्माण नहुँदै भत्काइयो पर्खाल

टीकापुर, २७जेठ
कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिकाको खुला मञ्चमा निर्माण भइरहेको घेरा पर्खाल निर्माण नहुँदै भत्काइएको छ । असार मसान्तभित्रै सम्पन्न गर्ने गरी लकडाउनको समयमा निर्माण शुरु गरिएको घेरा पर्खाल बांगो भएको भन्दै स्थानीयले चर्को विरोध गरेपछि भत्काइएको हो ।

स्मार्ट सिटी अन्तर्गत शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाई धनगढीले ५ शय ८३ मिटर लामो घेरापर्खाल निर्माणका लागि जय मालिका निर्माण सेवासँग सम्झौता गरेको थियो । निर्माण कम्पनीले बनाएको घेरा पर्खाल सम्झौता विपरीत बांगो भए पछि स्थानीयले चर्को विरोध गरेका थिए । स्थानीयको विरोधपछि कम्पनीले घेरापर्खाल भत्काएर पुनः निर्माण शुरु गरेको छ । निर्माण कम्पनीले पिल्लर नै नराखेर खुल्लामञ्चको दक्षिणतर्फ झण्डै एक शय ७० मिटर घेरापर्खाल निर्माण गरेको थियो । पिल्लर नै नभएको घेरापर्खाल भत्किने भन्दै स्थानीयले विरोध गरेका थिए ।

Khadga Memorial And Janajagriti

स्थानीय इञ्जिनियर रवीन्द्र विष्टलेलकडाउनको समयमा असारभित्रै काम सक्ने गरी हतारमा निर्माण गर्न खोज्दा घेरापर्खाल बांगो भएपछि विरोध गरिएको बताए । ‘बजेट सक्ने गरी काम गर्न खोज्दा पर्खाल बांगो भएको थियो, विरोध भएपछि केही भत्काइएको छ तर फेरि पनि पर्खाल बांगो नै छ’ उनले भने ‘त्यति लामो पर्खालमा पिल्लर केहीं पनि छैन, जग लेभल मिलाइर खनेको छैन, यो त जतिबेला पनि भत्किन्छ ।’ निर्माण कम्पनीले ४१ लाखको लागतमा डेढ फिट गहिरो र एक फिट पर्खाल उठाई बिम बाँध्ने काम असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

निर्माण कम्पनीका प्रबन्धक कमल बटालाले पर्खाल केही बांगो भएको स्वीकार्दै स्टिमेट अनुसार निर्माण कार्य अघि बढाइएको बताए । ‘मिस्त्रीहरुको गल्तीका कारण केही बांगो भएको थियो, त्यसलाई सुधारेर निर्माण गरिरहेका छौं’ बटालाले भने ‘हामीलाई दिएको स्टिमेटमै पर्खालमा पिल्लर छैन, अहिले कार्यालयले स्टिमेट च्याञ्ज गरेको छ त्यही अनुसार काम गरिरहेका छौं ।’स्थानीयले घेरापर्खालको विरोध गरेपछि टीकापुर नगरपालिकाले यसमा चासो देखाएको छ । नगरपालिकाले निर्माण कम्पनीलाई बोलाएर तत्काल सच्याउन भनेको छ ।

टीकापुर नगरपालिकाका इञ्जिनियर नवराज जोशीले खुल्ला मञ्चको घेरापर्खाल स्टिमेटमै कमजोरी भएको बताए । ‘त्यो स्टिमेटमै कमजोरी छ, पर्खालमा पिल्लर छैन, खुल्ला मञ्चमा प्रवेश गर्ने गेटहरु समेत छैन’ जोशीले भने ‘त्यही भएर हामीले नक्शा परिवर्तन गरेर पिल्लरसहित गेट समेत राख्न भनेका छौं ।’

संघीय सरकारका कार्यक्रमहरुमा स्थानीय तहलाई समन्वयन नै नगरेर स्टिमेट बनाउँदा समस्या आउने गरेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए । ‘समन्वय नै नगरी स्टिमेट बनाउँछन्’ रावलले भने ‘समस्या आएपछि नक्शा परिवर्तन गर्नुपर्छ ।

’शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन ईकाईका इञ्जिनियर सन्तोष जेठाराले खुल्ला मञ्चको घेरापर्खाल बांगो भएको स्वीकार्दै भत्काएर पुनः निर्माण कार्य शुरु गरिएको बताए ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update