Hamro Patra
टीकापुर अस्पतालबाट कोरोना जितेर फर्किए पाँच व्यक्ति

योगेश रावल
टीकापुर, जेठ २३
जानकी गाउँपालिका–७ का दिलिप क्षेत्री (१९) कोरोना जितेर घर फर्किने तयारीमा थिए । टीकापुर अस्पतालको हाताभित्र गाडी चढ्दै गर्दा उनले सोधे –‘डा. भुषाल खै ?’ । अस्पतालका फिजिसियन डा. सञ्जय भुषाल नजिकै थिए । उनले डा. भुषाल लगायत सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । ‘तपाईहरुका कारण घर फर्किन पाईयो’ उनले भने–‘तपाईहरु सबैलाई धन्यवाद ।’

उनले १४ दिन लामो अस्पतालको बसाईका क्रममा कोरोना जितेका हुन । उनी जेठ ९ गते अस्पताल भर्ना भएका थिए । उनी टीकापुर अस्पतालमा भर्ना हुने पहिलो कोरोना संक्रमित हुन । उनीसँग अन्य चारजना समेत कोरोना जितेर घर फर्किएका छन ।

Khadga Memorial And Janajagriti

यसरी कोरोना जितेर घर फर्किनेमा सबै जानकी गाउँपालिकाका बासिन्दा हुन । उनीहरु वडा नं. ३ का २१ वर्षका जीवन चौधरी, वडा नं. ३ कै ३८ वर्षका लोकनाथ भण्डारी, वडा नं. ४ का राम कठरीया, वडा नं. ४ कै ३० वर्षका नाथुराम रावत र वडा नं. ७ का क्षेत्री रहेका छन । उनीहरु मध्ये चौधरी नेपालगञ्जबाट र क्षेत्री इटहरीबाट फर्किएका हुन । अन्य सबै भारतबाट फर्केको बताईएको छ ।

दुर्गौलीस्थित सरस्वती माविमा रहेको क्वारेन्टाइनमा गरिएको स्वाब परिक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण देखिएको थियो । क्वारेन्टाइनमा गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई विभिन्न मितिमा अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनीहरु सबैको पहिलो पटक जेठ १७ गते र जेठ २१ गते पुनः स्वाब परिक्षण गरेको थियो । उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

उनीहरु सबैलाई स्वास्थ्यकर्मीहरुले फूलको गुच्छा दिएर बिदाई गरेका छन । निको भएर घर फर्किदै गरेका भण्डारीले सामाजिक दूरीले नै कोरोनालाई परास्त गर्न सकिने बताए । उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरे । ‘लापरवाही नगरौं । सबै सचेत रहौं’ उनले भने–‘कोरोनालाई जित्न सकिन्छ ।’

टीकापुर अस्पतालमा अहिले १ गर्भवती सहित ६ जना कोरोना संक्रमित उपचाररत छन । उनीहरु मध्ये ४ टीकापुर नगरपालिका र २ जानकी गाउँपालिकाका छन । टीकापुर नगरपालिकाका ४ मध्ये ३ एकै परिवारका हुन । उनीहरु सबै भारतबाट घर फर्किएका हुन ।

टीकापुर अस्पतालमा १३ शैयाको आइसोलेसन निर्माण गरिएको छ । टीकापुर लगायत आसपासका स्थानीय पालिकाहरुको सहयोगमा टीकापुरस्थित सिटी हललाई ३० शैयाको आइसोलेसन बनाउने तयारी भैरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update