Hamro Patra
सामाजिक सद्भावको वाधक को ?

हालसम्म नेपालका विभिन्न स्थानमा हिमालदेखि तराईसम्म जातियताका कारण मृत्युवरण गर्ने दर्जनौ र घाईते हुने हजारौ, आत्मसम्मानमा चोट पुगेका लाखौ न्याय नपाएर गुपचुप साम्य पारिएका उदाहरणहरु अनगिन्ती छन । बोक्सीको आरोपमा, चुलो छोएको आरोपमा, खाना छोएको आरोपमा, घर भित्र पसेर घर असुद्ध बनाएको आरोपमा, चिया खाएर गिलास नधोएको आरोपमा, सार्वजनिक धाराको पानी छोएको आरोपमा, कथित दलितको हैसियतमा प्रस्तुत नभएको आरोपमा, प्रेम सम्वन्ध,अनेक निँहु खोजेर सामाजिक तथा शारीरिक यातना दिएका घटनाहरु जताततै देख्न पाईन्छ । उपरोक्त अन्यायका श्रृंखलाहरु संस्थागत भई दिदा यसलाई स्थानिय दलित समुदायहरुले आफैवाट गल्ती हुने गरेको वुझाई हुनथाल्यो र अवस्था अनुसार दण्ड सजाय सहित माफ मगाएर स्थानिय गैर दलित समुदायले चाहेको वाटोमा हिंड्न वाध्य हुन थाले र दण्डहिनता वढ्न गयो । यो अभ्यासमा हुर्केका र प्रशिक्षित भएका दलित समुदाय सदियौ देखि सवै खाले अन्याय र अत्याचार सहंदै आजको अवस्था सम्म पुगेका छन । एकै प्रकृतिको घटनामा समुदाय र राज्यले दलित भएकै कारण फरक न्याय दिईरहेको प्रत्यक्ष देखिन थालेपछि आजको सचेत दलित समुदाय आक्रोसमा आउनु स्वाभाविक हो । उपरोक्त सत्यलाई जसले स्वीकार्दैन त्यही व्यक्ति आजको प्रमुख समस्या हो र कारण पनि हो ।

पश्चिम रुकुम घट्ना छानविनको क्रममा छ । यस्तै प्रकृतीका विगतका घट्नाहरुको छानविनवाट असन्तुष्ट दलित, यस घटनाको वारेमा जिम्मेवार र भरोसा तथा विश्वास गरिएका व्यक्तिबाट दलितकै कारण यो घटना घटेकोले स्वाभाविक भएको भाव आएपछि ६० लाख दलित न्याय पाउने विषयमा ससंकित भएका छन् र पहिलो पटक राष्ट्रव्यापी रुपमा यस घटनाको विरुद्धमा संगठित पनि भए । यस हत्या प्रकरणलाई केही असामाजिक र मानव संवेदनशिलता सुन्य भएका व्यक्तिहरुवाट आत्महत्याको रुपमा व्याख्या गरिदा यो जन आक्रोस पैदा भएको छ । यस्ता व्यक्तिहरुले यो वुझेका छैनन् कि यस्ता अभिव्यक्तिहरुले दलित एकता सुदृढ हंदै जान्छ र विस्फोट हुने समय छोट्याउनमा सहयोग भईरहेको छ । जुन सवैको लागि घातक हो । पिडित जहिले पनि हिंसक हुन्छ उसले मानविय समवेदना गुमाउन सक्छ । यो अवस्था आउन नदिन यस वर्गलाई अरु सरह सम्मानित नेपाली नागरिक भएर वांच्ने वातावरण सृजना गर्न यस देशका सवै वास्तविक शिक्षित र वुद्धीजिवीहरुको खांचो छ । दलित समुदायले यो पनि राम्ररी वुझेको छ, केही गैर दलित भित्रका मानवता वुझेका वुद्धिजीवीहरुको हौसला र अन्यायको विपक्षका अभिव्यक्तिका कारणले हाल सम्म रुकुम घट्नाले सम्हाल्नै नसक्ने हिंसात्मक रुप लिनवाट वचाएको छ र कानुनी उपचार नहुंदा सम्मको लागि मलहमपट्टीको काम गरेको यथार्त सवैलाई अवगत नै छ । दलितहरुको नरसंहार भएको कारण यस आन्दोलनको नेतृत्व दलितले नै गर्नूृपर्छ भन्ने मानसिकताले आपसी दुरी वढाई रहेको महसुस हुन्छ । जव अन्यायलाई जातिय र वर्गिय रुपमा फरक फरक व्याख्या गरिन्छ तव कित्ताहरु छुटीन थाल्छन् त्यसवेला न्याय मर्न थाल्छ र सोचे भन्दा धेरै परको क्षती समाजलाई र देशलाई हुन्छ । रुकुम नरसंहारमा कस्को गल्ती थियो भनेर वहस गर्ने वेला होईन किनभने गल्ती ६ जना मान्छे मार्ने को हो । कतै दलितलाई मान्छेको रुपमा स्वीकार्न मनोवैज्ञानिक रुपमा गाह्रो भएको त होईन । यस घट्नाले न्याय नपाए दलित एकता ईतिहासकै मजवुतर निर्णायक हुने देखिन्छ । केही अराजक तत्वहरुले न्यायप्रेमी जन समुदायको घाउमा नुनचुकको काम गरिरहेको छन र न्याय पाउनमा ससंकित वनाई रहेका छन र आक्रोस वढाई रहेका छन् ।
१० वर्षे जनयुद्धको अकल्पनिय मानव क्षतीवाट विसौं हजार आमाको कोख रित्तिएको पिडा थोरै भएपनि विसाउन नपाउदै अर्को हिंसात्मक द्वन्द्व रुकुम नरसंहारले निम्त्याउन सक्छ । ख्याल ख्यालमा वावुराम भट्टराईले म कामी लेख्छु भन्दा सर्वस्व गुमाएको र सांच्चै दलित भएको काल्पना मात्र गर्दाको पिडावोध गरी छट्पटाउने, रगत उम्लिनु पर्ने र अपशव्द प्रयोग गरी गाली गलौचमा उत्रनेहरु ! सयौं वर्ष देखि दलित अछुत वनाईएकाहरु भित्रको आगोको ज्वाला विष्फोट भए के होला कल्पना मात्र गर्नुुस त ! काखमा हुर्कन थालेको वच्चालाई दलितसंग गर्नुपर्ने व्यवहारवारे शिक्षा दिने को हुन ? विभिन्न धार्मिक सामाजिक कार्यमा दलितलाई अछुत भन्दै प्रवचन दिने को हुन ? दुरदराजको अशिक्षित समाजमा दलितलाई निम्न व्यवहार गर्नुपर्छ भनेर शिक्षा दिने को ? नेपालको कुनै समुदाय जसलाई छुवाछुतको वारेमा थाहा पनि छैन त्यस समुदायमा दलित छुवाछुतको विजारोपण कस्ले गरेको ? विस्तारै परिवर्तन हुन्छ भनेको के ? कति विस्तारै ? कति हजार वर्ष ? दलित भएकै कारण कति दलित मर्नुलाई विस्तारै भनिन्छ ? मन्दिरमा पुजा गर्न नपाउने दलितलाई कस्तो हिन्दु वनाएको ? दलित जातीमा हिन्दु धर्मप्रति वितृष्णा फैलाउन प्रमुख भुमीका खेल्ने को ? दलितको आरक्षण देखि जल्ने वुद्धिजिवीहरुलाई मेरो प्रश्न, दलितको काम परिश्रम गर्ने तोकिएको थियो भने कस्ले त्यस वेला दलितको नाममा जग्गादर्ता गर्न रोक्ने को ? जग्गा पनि तपाईहरुलाई चाहिने जागिर पनि तपाईहरुलाई चाहिने ? अहिले आरक्षणले देश वर्वाद भयो भन्नेहरु, यो सिष्टम नहुंदाको वखत देश स्वीटजरल्याण्ड थियो त ? फाट्ट फुट्ट सरकारी जागिरमा दलित देख्दा, असह्य भएको अभिव्यक्ति त होईन ? भ्रष्टाचार सवै भन्दा वढी कुन जातीवाट भएको छ ? देश वेच्ने दलित हुन ? राष्ट्रघाती सन्धी सम्झौता गर्ने दलित हुन ? खोला नाला वेच्ने दलित हुन ? दलितले न्याय माग्दा सामाजिक सद्भावको ख्याल गर्नु पर्ने ? सामाजिक सद्भाव दलितको ठेक्का हो ? गैर दलितले आफ्नो परिचय दिंदा गर्व गर्ने, दलितले त्यो हैसियत कहिले प्राप्त गर्ने ? दलित परिचर देखी सहसचिव सम्मको त्यही हालत, पढेर पनि भएन ? दसकौ सम्म महिला र दलितलाई विद्यालय शिक्षा हासिल गर्नमा रोक लगाउने को ? छोईछिटोको संरक्षण गर्ने को ? काम लिनुछ भने नाता लगाउने सहयोग गर्ने अवस्था आएमा भेदभाव गर्ने ? जन्ती पनि नहुने मालामी पनि नहुने अनि सामाजिक सद्भाव कायम राख्नु पर्ने ? यस देशको लागि निस्वार्थ भएर खुन, पसिना वगाउने नै यस देशको अछुत ? यि सवै अन्याय र अत्याचारहरु मुटु भित्र पोको पारेर राखेकाहरु संग निहुँ नखोज्दा राम्रो । यस्तै खाले सैयौं अपमान सहेर वसेकाले होला पश्चिम रुकुममा साहस गरेको । अव यो देशलाई हिंसावाट रोक्न माथि उल्लेख गरिएका विषयमा सवै पक्षका वुद्धिजीवीहरुले तार्किक र नतिजामुखी वहस चलाउन जरुरी छ । तपाई जस्तो वौद्धिकवर्गले नेतृत्व गरेको समाजको वास्तविक हालत यस्तो छ । मैले समाजसास्त्रमा पढेको, शिक्षित वुद्धिजीवीहरुमा ईच्छा शक्ती भएमा समाज जस्तो चाह्यो त्यस्तै वनाउने हैसियत राख्छन् । दलितले तपाईहरुलाई पुस्तौ देखि अभिभावक मानेको नतिजा हो यो ? यस्तो सामाजिय अन्यायको विचमा सामाजिक सद्भाव कसरी कायम हुन सक्छ ? न्यायपुर्ण समाज निर्माण गर्न तपाईको भुमीका के हुन सक्छ, आत्म समिक्षा गर्ने वेला आयो नत्र ढिलो हुन सक्छ । हेक्का रहोस आत्म सम्मान सवैलाई चाहिन्छ ।

Khadga Memorial And Janajagriti

समाज शिक्षित भएपछि सवै खाले भेदभाव स्वतः अन्त भएर जान्छ भन्ने विश्वास काठमाण्डौ लगाएतका अतिशिक्षित भनिएका र सरकारी कार्यालयमा अधिकृतको सेवामा रहेकाहरुले समेत २ दिन पछि दलित भनि थाहा पाएर दलित विद्यार्थीहरुलाई घरवाट निकालेर विचल्ली वनाएको ३ महिना मात्र भएको छ । जुन प्रतिनिधी घटना मात्र हो । शिक्षित हुनका लागी आधा भन्दा वढी दलितहरुले काठमाण्डौ लगाएतका सहरहरुमा थर लुकाएर लुकीलुकी अपराधी सैलीमा शिक्षा हासिल गर्दाको पिडा यथावत छ जसले उनीहरुलाई मानसिक पिडा त दिएको छ नै र पिडकहरु प्रति अधिक वितृष्णा र वदलाको भावनाको विकास भैरहेको छ । अहिले सवै खाले अपमान सहेर शिक्षित भईरहेका दलित समुदायका युवाहरुले कुनै ठुलो सपना वोकेको देखिदैन । उनीहरुको मन मष्तिस्कमा यो अपमानित र अपहेलित जीवनवाट उन्मुक्ती पाउनको लागि जुनसुकै मुल्य चुकाउन तयार रहेको भाव झल्किन्छ । यो संख्या झण्डै १८ लाख छ । उनीहरु आफुले दलित भएकै कारण हरेक क्षेत्रमा भोगेको सहनै नसक्ने पिडा त्यसमा पनि शिक्षित वर्गवाटै हुने गरेको घुमाउरो अपमान आफ्नो आउदो पुस्तालाई हस्तान्तरण गर्न चाहंदैनन् । यो कुरुती हटाउन जस्तोसुकै वलिदान दिन तयार रहेको मनोविज्ञान झल्किन्छ र गैर दलित भित्रका न्यायप्रेमी जन समुदाय र वुद्धिजीवीहरुको साथ र सहयोगको समेत अपेक्षा राख्दछन् जसले न्यायोचित सामाजिक एकतालाई वचाउन सहयोग गर्ने छ र पश्चिम रुकुम घटना नदोहोरिने सुनिश्चित गर्ने छ ।

त्यस कारण दलित माथिको यो अन्याय, अत्याचार, विभेद, असमानता, छुवाछुत तथा अमानविय व्यवहारमा गैर दलित वुद्धिजीवीहरुको सहानुभुतीले काम गरेन अव समानुभूति चाहियो, जसरी वावुराम भट्टराईले कामी लेख्छु भन्दा समानुभूति जाग्यो । अवको पुस्तालाई हरेक परिवारले मानविय शिक्षा देओस । दलित र गैर दलितको कित्ता छुटयाउने व्यवहार कतैवाट नगरियोस । तपाई केही वुद्धिजीवीहरुको धेर थोर सहानसभूतिले दलित आक्रोस विस्फोट भएको छैन, हिंसक आन्दोलन हुनवाट वचाएको छ तर अव रुकुमकाण्डको नतिजाले समय निर्धारण गर्ने संकेत देखिएको छ । मानविय नरसंहारमा पनि न्यायको लागि दलितले राष्ट्रिय आन्दोलन गर्नु पर्ने, त्यसमा पनि सर्वहाराको सरकारको विरुद्धमा । यस नरसंहारलाई मानविय नजरले हेरियोस ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update