Hamro Patra
प्रहरीको व्यवहार नागरिकमैत्री बनाउँछु–डिएसपी न्यौपाने

टोप प्रकाश विक
टीकापुर, जेठ २२
टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले प्रहरीको व्यवहार नागरिकमैत्री बनाउने बताएका छन । आज सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रहरी र नागरिकबीचको दूरी कम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले न्यायका लागि प्रहरी कार्यालयमा आउने हरेक नागरिकको कुरा सुनेर कारवाही प्रकृया अघि बढाइने बताए । उनले कुनै नागरिकले न्यायका लागि प्रहरी कार्यालयमा आउँदा भनसुन गर्नुपर्ने परिपाटीको अन्त्य गर्न प्रयत्न गर्ने बताए ।

‘कुनै नागरिकले प्रहरी कहाँ आउँदा भनसुनका लागि दुई चार जना मान्छे खोज्न नपरोस्’ उनले भने–‘नागरिकले प्रहरी समक्ष आफ्ना कुरा निर्धक्क राख्न सकून ।’

Khadga Memorial And Janajagriti

उनले कानूनले निर्धारण गरेको बाटो भन्दा बाहिर जाने प्रयत्न आफ्ना तर्फबाट नहुने बताउँदै नागरिकलाई प्रहरीको सहयोगी बन्न आग्रह गरे । उनले युवापुस्तालाई प्रहरीको साथीका रुपमा अघि बढाइने बताए ।

उनले नागरिकसँगको सहकार्यमा सामुदायिक प्रहरी कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिँसा नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए । ‘मेरो चाहना समाजमा कुनै खालका अपराध हुनु हुँदैन भन्ने हो’ उनले भने–‘मैले अपराध नियन्त्रणमा नागरिकको सहयोगको अपेक्षा राखेको छुँ ।’

उनले आफ्नो प्राथमिकता कुरा भन्दा पनि काम भएकाले त्यसतर्फ केन्द्रित रहने बताए । ‘म अहिले नै यो गर्छु त्यो गर्छु भन्दैन’ उनले भने–‘जति गर्छु इमान्दारीताका साथ गर्नेछु ।’

उनले आफ्ना कमी कमजोरीका बारेमा निर्धक्क भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै करिअर नै बिगार्ने गरेर तथाकथित कुरा भने नलेख्न अनुरोध गरे ।

‘जे हो त्यो कुरा लेख्नुस् । म तपाईले किन लेख्नु भयो भन्ने छैन’ उनले भने–‘तर मेरो धारणा व्यक्त गर्ने मौका भने दिनुहुनेछ ।’

उनले २÷४ दिनमै टीकापुरबासीको माया पाउन थालेको अनुभूति भैरहेको बताए । ‘कुनै समस्याले कल गर्नुहुन्छ तर पहिले डिएसपी साप स्वागत छ भन्नुहुन्छ’ उनले भने–‘जागिरे जीवनमा यो हार्दिकता अन्त कतै महशुस गर्न पाएको थिएन ।’

एक साता अघि इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा सरुवा भएर आएका डिएसपी न्यौपाने यसअघि प्रहरी तालिम केन्द्र बाँकेमा कार्यरत थिए । उनले जागिरे जीवनको लामो समय सामुदायिक प्रहरीका रुपमा बिताएका छन ।

यसअघि इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा रहेका डिएसपी मनोहर भट्ट प्रदेश नं. ५ प्रहरी डिआईजी कार्यालयमा सरुवा भएर गएका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update