Hamro Patra
जानकी गाउँ पालिकाका थप एक जनामा कोरोना पुष्टि

टोपप्रकाश वि.क.

टीकापुर, १३ जेठ

कैलालीको जानकी गाउँपालिका थप एकजना ३८ वर्षीय पुरुषमा कोराना पुष्टि भएको छ । वडा नं. १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ती पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि सो क्वारेन्टाइनमा बसेका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि थियो । यससँगै जानकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

Khadga Memorial And Janajagriti

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा जानकी गाउँपालिका वडा नं. ३ भगतपुरका पुरुष हुन् । उनी भारतको बारबंकीबाट नेपाल आएका हुन् ।

चौधरीका अनुसार बारबंकीबाट भारतकै नानपारा क्वारेन्टाइनमा तीन दिन बसेका उनी रुपडियाँ नाका हुँदै आएका हुन् । उनी जेठ २ गते राति टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । जेठ ३ गते उनलाई सरस्वती माविको क्वारेन्टाइनमा लगिएको थियो ।

सो क्वारेन्टाइनमा रहेका १६ जनाको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टिमले थ्रोट स्वाब संकलन गरेको थियो । यसअघि तीन जना र आज एक गरी ४ जनामा कोरोना पुष्टि भए पनि अन्यको रिपोर्ट नआएको चौधरीले बताए । ‘१६ जनाको स्वाब संकलन भएको थियो, ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ’ चौधरी भने ‘अन्यको रिपोर्ट भने आएको छैन ।’ सो क्वारेन्टाइनमा ४२ जना राखिएका छन् ।

यसअघि जानकी गाउँपालिका वडा नं. ७ का दुई जना र वडा नं. ४ कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई टीकापुर अस्पतालको आइसोलेशनमा राखिएको छ ।


किट नहुँदा स्वाव संकलनमा ढिलाई

भिटिएम किट नहुँदा जानकी गाउँपालिकाका दुई जना कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन हुन सकेको छैन । वडा नं. ७ मोतिनगरका कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेका १५ जना र वडा नं. ४ का संक्रमितको सम्पर्कमा रहेका ६ जनाको स्वाब संकलन हुन नसकेको हो ।

बाँकेको नेपालगञ्जबाट एम्बुलेन्समार्फत् घर पुगेका मोतिनगरका पुरुष तीन दिनसम्म घरमा बसेका थिए । गाउँमा भलिबल समेत खेलेका उनको कन्ट्याक्ट टेसिंङमा आएकाहरुको घर नै शिल गरिएको छ स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

संक्रमण पुष्टि भएको पाँच दिनसम्म समेत कन्ट्याक्ट टेसिंङमा रहेकाहरुको स्वाब समेत संकलन नभएपछि उनीहरु त्रसित बनेका छन् । चौधरीले सुदूरपश्चिम प्रदेशबाट गाउँपालिकालाई भिटिएम कीट नपठाएका कारण स्वाब संकलन गर्न नसकिएको बताए । सुदूरपश्चिममा भिटिएम किट नहुँदा कोरोना परीक्षण कार्य समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update