Hamro Patra

धनगढी, चैत्र २६

कैलालीको गौरिफन्टा नाकामा एसएसबीले चार लाख भारतीय रुपैया सहित चार जनालाई पक्राउ गरेको छ। एसएसबीले हिजो दिउँसो नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा चार लाख भारतीय रुपैया सहित कैलालीका चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीका गौरीगंगा नगरपालिका ४ राजीपुरका कुल बहादुर लामा, करन लामा, बुद्ध खनाल र सवारी चालक धनगढीका राजु शाही रहेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्मले जनाएको छ।

Khadga Memorial And Janajagriti

से १ च २१७१ नम्बरको स्कारपियो गाडीमा भारततर्फ गइरहेका उनीहरुबाट थप ४८ हजार नेपाली समेत एसएसबीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले  जानकारी दिए। उनीहरुले भारतको बम्बैको साईओम अस्पतालमा उपचार गरिरहेका कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुरका दुर्गा लामाका लागि रकम लगिरहेको बताए। दुर्गाको ऐलानी जग्गा बिक्रि गरी उनका भान्जा दिलिप लामाले छिमेकी समेत रहेका कुल बहादुर लामा सहितका व्यक्ति मार्फत रकम पठाएको भनिएपनि आवश्यक कागजपत्र नभएका कारण एसएसबीले नियन्त्रणमा लिएको हो।

रकम र गाडी सहित एसडिएम कार्यालय पलिया पठाईएका उनीहरुलाई आवश्यक कागजपत्र पेश गर्ने सहमतीमा एसएसबीले हिजो नै छोडेपछि नेपाल ल्याईएको सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले  जानकारी दिए। रकम भने एसएसबीले नै राखेको छ। आवश्यक कागजपत्र पेश गरे मात्रै रकम फिर्ता दिने भनेको सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले बताए।

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update