Hamro Patra
टीकापुर नगरपालिकालाई काँग्रेस र श्रीरावल प्रतिष्ठानको राहत

परमानन्द पाण्डे
टीकापुर, बैशाख २०

 कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई मध्यनजर विभिन्न संघसंस्थाहरुले टीकापुर नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन । नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश समिति ख र टीकापुर नगर समितिले २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । पार्टीका स्थानीय नेता कार्यकर्ताहरुबाट आर्थिक संकलन गरेर खरिद गरिएको खाद्यान्न आजै नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले संयुक्त रुपमा मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी बिष्टलाई खाद्यान्न हस्तान्तरण गरेका छन ।

Khadga Memorial And Janajagriti

 प्रदेश समिति सभापति प्रकाश शाहले ५० क्विन्टल चामल र ४ क्विन्टल दाल हस्तान्तरण गरिएको जानकारी दिए । उनले विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग गरेको बताए । उनले नागरिकलाई परेको समस्यामा नेपाली काँग्रेस सदैव समाधानका रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे ।

 त्यस्तै प्रदेश समिति र नगर समितिले टीकापुरमा कार्यरत पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । विभिन्न १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलमार्फत पत्रकारहरुलाई मास्क र सेनिटाइजर प्रदान गरिएको छ ।

 टीकापुरस्थित श्री रावल प्रतिष्ठानले समेत नगरपालिकालाई १ लाख १३ हजार ४५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. रणबहादुर रावलले २७ क्विन्टल चामल, १ क्विन्टल दाल र १ सय किलो नून प्रदान गरेका छन ।

 सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा यस क्षेत्रका साँसद समेत रहेका डा. रावलले आफ्ना बुबा श्री रावलको नाममा गठन गरिएको प्रतिष्ठान मार्फत खाद्य सामाग्री प्रदान गरेका हुन । उनले आफ्नो जन्मदिनको अवसर पारेर नगर क्षेत्रमा रहेका विपन्न परिवारका लागि खाद्य सामाग्री हस्तान्तरण गरेका हुन । राहत सामाग्री बुझ्दै मेयर रावलले कोरोना विरुद्धको अभियानमा साथ दिएकोमा धन्यवाद व्यक्त गरे ।

 उनले सबै मिलेर कोरोनाबाट हुनसक्ने महामारीको सामना गर्न आग्रह गरेका छन । नगरपालिकालाई राहत दिने संघसंस्थाको संख्या दिनप्रति दिन बढ्दै गएको छ । हालसम्म नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले १० लाख ६५ हजार ७७३ रुपैयाँ नगद सहयोग गरेका छन । त्यस्तै ५१ हजार ६४२ किलो चामल, १ हजार ७५१ किलो दाल, १ हजार ८३५ किलो नून, ६३७ लिटर तेल, ४ हजार ६८८ पिस साबुन र २५ किलो पिठो समेत सहयोग प्राप्त भएको मेयरका स्वकिय सचिव निर्मला चौधरीले जानकारी दिईन ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update