Hamro Patra
लकडाउनले केरा कृषक मारमा

योगेश रावल

टीकापुर, बैशाख १८

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका–१ का किसान विनोद साह आफ्नो केरा बारी नगएको धेरै दिन भैसक्यो । उनलाई केरा बारीको तहसनहस अवस्थाले जानै मन लाग्दैन । ‘गयो भने झन धेरै पीडा हुन्छ’ उनले भने–‘धेरै दिनदेखी गएको छैन ।’ उनले ५५ विगाहमा केरा खेती गरेका छन । उनको बारीमा ३० प्रतिशत केरा बिक्रीका लागि तयारी अवस्थामा थियो । त्यहीबेला कोरोना नियन्त्रणका लागि लकडाउन गरियो ।

लकडाउनका कारण देशभरको जनजीवन ठप्प भयो । उनको बिक्रीका लागि तयारी अवस्थामा रहेको सबै केरा बारीमै सड्यो । त्यसपछिका दिनमा तयार भएको केरा समेत बारीमै सडिरहेको छ । ‘अहिलेसम्म कम्तिमा १५ गाडी केरा सडिसक्यो । यस्तै ३० देखी ३५ लाख रुपैयाँ गुमाईसकेको छुँ’ उनले भने–‘जति धेरै दिनसम्म लकडाउन जारी रहन्छ । त्यतिधेरै रुपैयाँ गुमाउनु पर्नेछ ।’ जोशीपुर गाउँपालिका–४ झबहीस्थित दम्पती नेपबहादुर चौधरी र रुपा सोसीको केरा बारीको अवस्था समेत तहसनहस छ । चौधरी नेकपा सुदूरपश्चिमका सचिव र सोसी संविधान सभा सदस्य हुन । उनीहरुको बारीमा रहेको धेरैजसो केरा समेत सड्न थालेको छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केरा बारीमै सड्न थालेपछि चौधरीले क्वारेन्टाइनमा रहेका व्यक्ति, प्रहरी, सञ्चारकर्मी लगायतलाई निशुल्क बाँडेका छन । ‘बारीमा सडेर खेर जानुभन्दा कसैले खान पाओस भनेर सहयोग गरेको हुँ’ उनले भने–‘कि त बारीमै सड्न दिनु पर्यो कि त बाँडेर सक्नु पर्यो । अरु विकल्प पनि त छैन ।’ केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले यस्तो अवस्था सबै केरा कृषकको रहेको बताए । उनले धेरै कृषकको बारीमा केरा सडिरहेको जानकारी दिए । उनले बामे सर्न थालेको यस क्षेत्रको केरा व्यवशाय धरासायी हुने अवस्था आएको बताए । ‘केरा कृषक आर्थिक रुपमा टाँट पल्टिने अवस्था आयो’ उनले भने–‘लकडाउनका कारण धेरैजनाको केरा बारी तहसनहस छ ।’

रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फको कमाण्ड क्षेत्रमा मात्रै ५ सय हेक्टरमा केरा खेती भैरहेको छ । कमाण्ड क्षेत्र रहेको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको केही वडाका एक सय किसान केरा खेतीमा संलग्न छन । उनीहरु मध्ये ४० जना व्यवशायिक रुपमै केरा खेती गर्दै आएका छन । कार्यालय प्रमुख भरत कँडेलका अनुसार करिव एक सय हेक्टरको केरा लकडाउनका कारण नोक्सान भएको छ । उनले लकडाउनका कारण झण्डै डेढ करोडको केरा नष्ट भएको बताए । ‘लकडाउन लम्बियो भने अझ धेरै केरा नष्ट हुन्छ’ उनले भने–‘कतिपय किसान विस्थापित हुने हुन कि भन्ने त्रास बढ्दै गएको छ ।’ टीकापुर केराको हब बन्दै गैरहेको छ । यहाँ विगत लामो समयदेखी केरा खेती हुँदै आएको छ । सन् २०११ मा आयोजना लागु भएपछि केरा खेतीमा बिस्तार भएको देखिन्छ ।

आयोजनाले केरा कृषकहरुलाई अनुदान दिँदै आएको छ । आयोजनाको कमाण्ड क्षेत्र भन्दा बाहिर पनि धेरै किसानले केरा खेती गर्दै आएका छन । उनीहरुको केरा बारी समेत लकडाउनका कारण तहसनहस भएको छ । धेरैजसो किसानको केरा बारीमा बिक्री हुन नसकेको केरा सड्न थालेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update