Hamro Patra
चेकजाँच विना सुदूरपश्चिममा आठ हजार भित्रिए

परमानन्द पाण्डे
टीकापुर, वैशाख १८

लकडाउनकै अवधिमा कोरोना संक्रमणको जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा पूर्वी नेपालका विभिन्न क्षेत्रबाट झण्डै ८ हजार नागरिक भित्रिएका छन् । देशभर लकडाउनमा कडाई गरिएको बताइरहेका बेला ती नागरिकहरु केही पैदल र केही बसमार्फत् सुदूरपश्चिममा भित्रिएका हुन् ।

Khadga Memorial And Janajagriti

पूर्वी नेपालका विभिन्न जिल्लाबाट सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकहरुको सामान्य चेकजाँच समेत भएको छैन । लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार चैत्र २७ गतेदेखि चिसापानीबाट झण्डै ८ हजार बढी नागरिक सुदूरपश्चिम प्रवेश गरेका छन् ।

चैत्र २७ गतेपछि मंगलवारसम्म ८ हजार नागरिकले सुदूरपश्चिम प्रवेश गरेका छन् । पहिलो चरणको लकडाउन अघि नआएका उनीहरु दोश्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए । पछिल्लो एक साता यता स्थानीय तह, संघीय सांसद, मन्त्री लगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि यो संख्या बढेको हो ।

अघिल्लो साता ३ हजार नागरिक सुदूरपश्चिम प्रवेश गरेकोमा चार दिन यता झण्डै ८ हजार बढी पुगेको अध्यक्ष चलाउनले बताए । ‘चैत्र २७ गतेदेखि मंगलवारसम्म ८ हजार बढी नागरिक सुदूरपश्चिममा भित्रिएका छन्’ अध्यक्ष चलाउने भने ‘पछिल्लो यो साता स्थानीय तह, सांसदहरुले समेत काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो ।’

पूर्वी नेपालको धादिंग, गोर्खा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोट लगायतका जिल्लामा रहेका सुदूरपश्चिमेलीहरु धमाधम फर्किरहेका छन् । उनीहरुलाई चिसापानीमा सामान्य चेकजाँच समेत हुने गरेको छैन । अन्य जिल्लाबाट आएकाहरुको स्वास्थ्य चेकजाँच, र्यापिड टेस्ट गर्नुपर्ने भए पनि सुदूरपश्चिम प्रवेश गरेकाहरु भने सामान्य स्वास्थ्य चेकजाँच विना नै फर्किरहेका छन् । चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिएको भए पनि अझै सञ्चालन हुन सकेको छैन ।

लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update