Hamro Patra
क्वारेन्टाइन भरिभराउ, व्यवस्थापनमा चुनौती

योगेश रावल
टीकापुर, बैशाख ११
काठमाण्डौं लगायतका ठाउँबाट मानिसहरु घर फर्किन थालेपछि स्थानीय पालिकालाई व्यवस्थापनमा निकै समस्या भएको छ । एकातिर राहत वितरणको समस्या झेलिरहेका पालिकाहरुलाई दिनानुदिन घर फर्किनेको संख्या बढ्न थालेपछि टाउको दुखाई बनेको छ ।

उनीहरुले विभिन्न शैक्षिक संस्थाका भवनलाई क्वारेन्टाइन बनाएका छन । ती क्वारेन्टाइन खचाखच भरिन थालेका छन । क्वारेन्टाइनमा रहेकाहरुलाई स्वास्थ्य जाँच मात्रै हैन खान र बस्न समेत समस्या हुन थालेको छ ।

टीकापुर नगरपालिकाले मान्छेको चाप बढेपछि थप चारवटा क्वारेन्टाइन थपेको छ । उसले राष्ट्रिय मावि बेलुवा र कर्णाली मावि सत्तीमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ भने सेती मैया चौधरी मावि झुंगा र कर्णाली मावि टीकापुरलाई तयारी अवस्थामा राखेको छ ।

Khadga Memorial And Janajagriti

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार बेलुवामा ११ महिला सहित ४३ जना र सत्तीमा १६ महिला सहित ७५ जना बस्दै आएका छन । विगत चैत ११ गतेदेखी टीकापुर बहुमुखी क्याम्पस भवनामा सञ्चालनमा आएको पहिलो क्वारेन्टाइनमा भने १७ महिला सहित १६६ जना छन ।

नगरपालिकाले हालसम्म ७० जनालाई क्वारेन्टाइनमा राखेर घर फिर्ता पठाईसकेको छ । त्यस्तै हालसम्म ३२० जनाको ¥यापिट टेस्ट र ३७ जनाको स्वाब परिक्षण गरिएको शाखा प्रमुख रावलले जानकारी दिए । उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै जानकी गाउँपालिकाले समेत मान्छेको चाप बढेपछि थप दुईवटा क्वारेन्टाइन थपेको छ । उसले जनता मावि कञ्चनपुर र मोति मावि मोतिनगरको भवनमा क्वारेन्टाइन थपेको छ । उसले यसअघि सरस्वती मावि दुर्गौलीमा पहिलो क्वारेन्टाइन बनाएको थियो । गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले क्वारेन्टाइनमा हाल २ सय जना रहेको जानकारी दिए ।

उनले दिन प्रति दिन क्वारेन्टाइनमा मान्छेको चाप बढ्दै गएको बताए । ‘एक दिनमा ३०÷३५ जनाका दरले मान्छे थपिएका छन’उनले भने–‘व्यवस्थापनमा निकै समस्या भैरहेको छ ।’ गाउँपालिकाले अहिलेसम्म ३५ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ ।

दुई जना कोरोना पोजेटिभ देखिएको लम्कीचुहा नगरपालिकामा हाल १५८ जना क्वारेन्टाइनमा छन । उसले मोतिपुर, चिसापानी, प्रतापपुर र लम्की गरी चार ठाउँमा क्वारेन्टाइन स्थापना गरेको छ । उसले हालसम्म १७१ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाईसकेको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिईन । उनले ती मध्येका १६ जना पुनः क्वारेन्टाइनमा फर्केको बताईन ।

प्रतापपुर क्वारेन्टाइनमा कोरोना पोजेटिभ देखिएका युवा सञ्चो भएर घर फर्किएका छन भने लम्की क्वारेन्टाइनमा पोजेटिभ भेटिएको महिलाको रिपोर्ट अझै आएको छैन ।

जोशीपुर गाउँपालिकाले २०३ जनालाई क्वारेन्टाइनमा राखेको छ । उसले विभिन्न तीन ठाउँमा क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य शाखा प्रमुख शान्ति चौधरीका अनुसार मोहन्याल माविमा १०४, रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा ८० र जन प्रकाश मावि मुद्दीमा १९ जना बस्दै आएका छन । गाउँपालिकाले हालसम्म ३६ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ ।

स्वास्थ्यकर्मीको अभावका कारण गाउँपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेखमा किनै समस्या भैरहेको जनाएको छ । एकातिर क्वारेन्टाइन र अर्कोतिर स्वास्थ्य संस्थामा आउने आम बिरामीलाई समेत चेकजाँच गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मी निकै तनावमा काम गरिरहेका छन । ‘अहिले त जेनतेन काम गरिरहेका छौं’ स्वास्थ्य शाखा प्रमुख चौधरीले भनिन्–‘अब यो भन्दा बढी मानिस थपियो भने काम गर्न सकिदैन ।’

उता भजनी नगरपालिकाले मोहन्याल माविमा मात्रै क्वारेन्टाइन बनाएको छ । उसले त्यहाँ २३ महिला सहित १३६ जनालाई राखेको छ । स्वास्थ्य शाखा प्रमुख किर्ति विकका अनुसार १४३ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाईएको छ । उनका अनुसार नगरपालिकाले २८६ जनामा गरेको ¥यापिट टेस्ट नेगेटिभ आएको छ ।

सरकारले देशभर लकडाउन गरेको छ । तैपनि मानिसहरु कोही पैदलै त कोही विभिन्न सवारी साधन प्रयोग गरेर आईरहेका छन । उनीहरु मध्ये कतिपयलाई जनप्रतिनिधिहरुले नै गाडीको व्यवस्था गरेर घर फिर्ता पठाईरहेका छन । सरकारले यसरी घर फर्किएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर ¥यापिड टेस्ट नेगेटिभ आएपछि मात्रै घर पठाउन स्थानीय पालिकालाई निर्देशन दिएको छ । तर कतिपय पालिकाहरुले सरकारको निर्देशनको अवज्ञा गर्दै आएका छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update