Hamro Patra
कोरोना कहरः राहतमा किन विवाद ?

योगेश रावल
यतिबेला टीकापुर नगरपालिका वडा नं. १ को राहत वितरणलाई लिएर धेरै मान्छेले असन्तुष्टी जनाएका छन । कतिपयले सामाजिक सञ्जालमा गैर लक्षित वर्गले राहत पाएको गुनासो गर्ने गरेका छन । नगरपालिकाले समेत राहत वितरण कार्य प्रति चित्त बुझाएको छैन । कहिँ कतै कमि कमजोरी भैरहेको नगरपालिकाकै भनाई छ ।

आखिर यस्तो समस्या कसरी आयो त ?
वडा कार्यालयले वडाध्यक्षको संयोजकत्वमा २७ सदस्यीय जम्बो आपूर्ती समिति गठन गरियो । यतिले पनि नपुगेर सल्लाहकार समिति गठन गरियो । सो समितिले गाउँ टोलमा विपन्न घरपरिवारको तथ्यांक संकलन गर्न मान्छे खटायो । ती मान्छेहरुले पहिलो चरणमा ९३०० घरपरिवारको नामावली ल्याए । पछि त्यो संख्या घटाएर ४ हजार १२३ मा झारियो । यसरी तथ्यांक संकलन गर्दा लापरवाही भयो । कतिपयले वास्तविक विपन्न घरपरिवारको नाम ल्याए । उनीहरुको गाउँ टोलमा समस्या छैन । तर कतिपयले भने आफ्ना मान्छेका नाम गैर लक्षित घरपरिवारको नाम संकलन गरे । जसमा वैदेशिक रोजगारमा रहेकाहरुका परिवार पनि छन । जागिरे र विभिन्न पेशा व्यवशाय गर्दै आएकाहरु समेत राहत पाउने लिस्टमा छन । अहिले तिनै व्यक्तिहरुका कारण समस्या सुरु भैरहेको छ ।

वडा कार्यालयले राहत वितरण कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सकेन । उनीहरुले कतिपय ठाउँमा गाउँ टोलमै पुगेर राहत बाँडे । त्यो राम्रो कार्य थियो । त्यसपछि भने वडा कार्यालयबाटै राहत बाँड्ने काम सुरु भयो । अझ कतिपय व्यक्तिका घरमै राहत पुर्याउने काम पनि भयो । यसले आम मानिसमा असन्तुष्टी बढ्नु स्वभाविकै हो । वडा कार्यालयबाटै राहत वितरण गर्दा को लक्षित घरपरिवार हो वा हैन भन्ने कुरा ठम्याउन गाह्रो भयो । जसले गर्दा लक्षित घरपरिवारले टुलुटुलु हेर्न र गैर लक्षितले राहतका पोका बुझ्ने प्रकृया सुरु भयो ।

CMA Staff

अब के हुनुपर्छ त ?
मान्छेहरु राहत माग गर्दै वडा कार्यालयमा पुग्न थालेका छन । त्यसमा कतिपय वास्तविक समस्या भएका छन । कतिपय भने समस्यालाई अझ बढाउने नियतले पुग्न थालेका छन । यसमा राजनैतिक आस्था र गुटगत प्रतिशोध पनि देखिन सक्छ । यो परिघटना चाँडै बढ्ने देखिन्छ । धेरै मान्छेहरु राहतका लागि वडा कार्यालयमा पुग्न थाल्ने हो भने समस्या विकराल बन्ने निश्चित छ । यसतर्फ वडा कार्यालय चनाखो हुन जरुरी छ ।
वडा कार्यालयले सबैभन्दा पहिले त राहत पाईसकेका र राहत पाउने लिस्टमा भएकाहरुको नामावली सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्छ । त्यसले कतिपय गैर लक्षित घरपरिवारको पहिचान हुनेछ । उनीहरु राहत बुझ्ने कार्यमा समावेश हुने छैनन् । यसले लक्षित घरपरिवारलाई राहत वितरण कार्य सहज हुनेछ ।

अर्को कुरा राहत वितरण कार्यलाई वडा कार्यालयबाट गरिनु हुँदैन । वडा नं. १ मा ३३ वटा ब्लक छन । हरेक ब्लकमा नामावली संकलन गर्ने व्यक्ति छन । कतिपय ठाउँमा जनप्रतिनिधि छन । जनप्रतिनिधि नभएका ठाउँमा राजनीतिक कार्यकर्ता र सामाजिक अगुवा छन । उनीहरुको रोहबरमा लक्षित घरपरिवारको पहिचान गरिनुपर्छ । उनीहरुका घरमै पुगेर वास्तविकता बुझ्नुपर्छ । यसरी सबैको रोहबरमा गरिएको सर्भेक्षणका आधारमा नगरपालिकाले जनशक्ति प्रयोग गरेर घरमै राहत पुर्याउनु पर्छ । यसरी राहत वितरण गर्ने हो भने कसैले पनि आपत्ति जनाउने छैन । यस कार्यमा छरछिमेकीले समेत साथ दिनुपर्छ ।

नगरपालिका केन्द्रको जिम्मेवारी
वडा नं. १ सबैभन्दा महत्वपूर्ण वडा हो । यहाँ ९ हजार ८१३ घरधुरी र ३९ हजार ७७८ जनसंख्या छ । ब्यापार व्यवशाय, कलकारखाना, शैक्षिक क्षेत्रका हिसाबले पनि यो वडा अन्य भन्दा फरक छ । यस वडाको गाम्भिर्यतालाई नगरपालिकाले बेलैमा बुझ्न आवश्यक छ । अहिलेसम्मको अवस्था हेर्दा नगरपालिका केन्द्र वडा नं. १ को राहत वितरण प्रति मौन छ । उसले अन्य वडामा जस्तो प्रत्यक्ष चासो देखाएको पाईएको छैन । यसमा केन्द्रका पनि आफ्ना वाध्यता होलान । तर वडा नं. १ मा भैरहेको राहत वितरण प्रतिको असन्तुष्टीले समग्र नगरपालिकालाई विवादमा ल्याउने निश्चित छ । व्यवस्थित ढंगले राहत वितरण भएका÷भैरहेका अन्य वडाले समेत अपजसको भारी बोक्नु पर्नेछ । जसको प्रत्यक्ष असर नगरपालिकालाई पर्नेछ ।

राहत प्रतिको आम बुझाई
२०७२ सालको टीकापुर घटनालाई स्मरण गरौं । त्यसबेला ३४ दिन कफ्र्यु लागेको थियो । त्यतिबेला समेत अहिले जस्तो जनजीवन प्रभावित बनेको थियो । धेरै मान्छेले घर बाहिर निस्किन पाएका थिएनन् । कोही घर बाहिर निस्किन नपाउने अवस्थामा कामकाज समेत ठप्प भएको थियो । तर त्यतिबेला कसैले राहतका नाममा खाद्यान्न बाँडेका थिएनन् । अहिले भने राहतका लागि तछाडमछाड भैसकेको छ । यसको अर्थ कसैको घरपरिवारमा समस्या नै छैन । कसैलाई राहत दिनु हुँदैन भन्ने हैन । तर राहत प्रति आम मानिसको बुझाई गलत छ । नगरपालिकाले राहत दिनै पर्छ भन्ने सोचको विकास भएको छ । यो सोचको विकास घरदैलोमा राहतका लागि नाम लिस्ट बनाउन जाँदा भयो । त्यतिबेला हामीले मान्छेहरुलाई कन्भेन्स गरेर वास्तविक घरपरिवारको नामावली संकलन गर्नुपथ्र्यो । त्यसो हुन नसक्नुको परिणाम अहिले देखिन थालेको छ ।

हामी समस्याको सुरुवातमै छौं । अहिले नै धेरै समस्या आईसकेको छैन । यो समस्या कहिलेसम्म रहन्छ भन्ने ठेगान पनि छैन । यसको स्वरुप कस्तो हुनेछ भन्ने पूर्वानुमान समेत हामीसँग छैन । तर संसारमा जसरी कोरोना भाइरसको संक्रमण फैलिरहेको छ त्यो निकै डरलाग्दो छ । छिमेकी मुलुक भारतमा संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा झण्डै ४० लाख भन्दा बढी नेपाली रहेको बताईन्छ । हामीबीच खुल्ला सिमाना छ । भारतमा जति धेरै कोरोनाको संक्रमण फैलिने छ त्यसले हामीलाई समस्यामा पार्नेछ । भारतमा रहेका थुप्रै नेपालीहरु स्वदेश फर्किने छन । हामी चाहेर पनि तिनीहरुलाई रोक्न सक्ने छैनौं ।

महामारीसँग जुध्ने हाम्रो ल्याकत
हाम्रो देश रेमिटान्स, अनुदान, ऋण सहयोगले चलेको छ । जब कोरोनाले संसार तहसनहस पार्नेछ तब यी सबै कुरा ठप्प हुनेछन । हाम्रो आफ्नो उत्पादनले अहिले नेपालमा रहेको जनसंख्यालाई पाल्न सक्दैन । यदि भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किए भने अझ खाद्यान्न आवश्यक पर्नेछ । हामी खाद्यान्नमा समेत परनिर्भर छौं । कुनैपनि मुलुकले आफ्नो खाद्यान्न हामीलाई बेच्ने छैन । उनीहरुले आफ्ना नागरिकका लागि खाद्यान्न सञ्चय गर्नेछन । त्यतिबेला हामीसँग भएको सबै खाद्यान्न सकिएको हुनेछ । हामी कोरोना भन्दा भोकमरीले मारिने छौं । आशा गरौं यो अवस्था हामीले भोग्नु नपरोस् ।

अब के गर्ने त ?
लकडाउन हिजोआज सकिने अवस्था छैन । यो धेरै दिनसम्म जारी रहन्छ । हाम्रा अफ्ठ्यारा दिन आउँदैछन । ती अफ्ठ्यारा दिनको कसरी सामना गर्ने भन्ने बारेमा हामीले अहिले नै सोच्न जरुरी छ । हामीसँग भएका खाद्यान्नको सञ्चय गरौं । यो बेलामा मिठो मसिनो नाममा धेरै परिकार खान जरुरी छैन । कतिपय खानेकुरा खेर गैरहेको छ । त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिऔं । लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको छ । यो फुर्सदको समयमा घरआँगनमै वैकल्पिक खाद्यान्नको जोहो गरौं । एकले अर्कोलाई सहयोग गरौं । यो विपदको बेलामा हामी सबै इमान्दार बनौं ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update