Hamro Patra
आकस्मिक कोषमा थपिँदै सहयोग

टोप प्रकाश वि.क.
टीकापुर, चैत २८
टीकापुर नगरपालिकाको आकस्मिक कोषमा सहयोग गर्नेहरु थपिँदै गएका छन् । कोरोना संक्रमणको सन्त्रास फैलिएसँगै नगर क्षेत्रभित्रका विपन्न परिवारलाई राहत दिन बनाइएको आकस्मिक कोषमा सहयोग गर्नेहरु थपिँदै गएका हुन् ।

नगरपालिकाको कोषमा हिजो टीकापुरस्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सत्ती कर्णाली सामुदायिक वनले सहयोग गरेका छन् । खानेपानी संस्थाले नगरपालिकालाई नगद एक लाख १ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । अध्यक्ष भैरव रावलले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले साढे ३७ क्वीन्टल चामल र ६ क्वीन्टल नून नगर प्रमुख रावललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको सन्त्रासबाट विपद्मा परेका बेला राहत सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष साउँदले बताए ।

Khadga Memorial And Janajagriti

आज टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयले एक दिन बराबरको शिक्षक कर्मचारीको तलब र संस्थागत गरी ७५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक यज्ञराज ज्ञवालीले सहयोग हस्तान्तरण गरेका हुन् ।

त्यस्तै टीकापुरस्थित गालब सुपरमार्केटले नगरपालिकाको राहत कोषमा २५ हजार रुपैयाँ नगद उपलब्ध गराएको छ । सञ्चालक अनुदेवी विष्टले उक्त रकम हन्तान्तरण गरेकी थिइन् ।

राहत कोषमा टीकापुर नगरपालिका वडा नं. ८ घर भई हाल दक्षिण कोरियामा कार्यरत ओम साउँदले नगद रु. २१ हजार जम्मा गरेका छन् । साउँदले उपलब्ध गराएको सहयोग रकम भक्तराज देवकोटाले हस्तान्तरण गरेका हुन् ।

त्यस्तै टीकापुर नगरपालिका वडा नं. १ घर भई हाल अस्टेलियामा कार्यरत सोविका पराजुलीले १५ हजार ८ शय ७५ रुपैयाँ सहयोग गरेका छन् । नेपाल स्काउटका आयुक्त काशीराम ढुंगानाले राहत कोषमा ४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाली काँग्रेस ८ नं. वडा कार्यसमितिले समेत राहत सामग्री हस्तान्तरण गरेको छ । काँग्रेसले १५ क्वीन्टल चामल, एक क्वीन्टल दाल, ८० लिटर तेल, एक क्वीन्टल नुन र ७० थान साबुन दिएको छ ।

टीकापुर नगर कार्यपालिकाका सदस्य उपमा केसीले राहत कोषमा २ क्वीन्टल ५० केजी चामल, नेपाल मानव धर्म सेवा समिति टीकापुरले ३ क्वीन्टल ५० केजी र बाँचकोटी टमट्टा समाजले ५ क्वीन्टल चामल सहयोग गरेका छन् ।

सहयोगी सबैलाई नगर प्रमुख तपेन्द्र रावल, उपप्रमुख केशरी विष्टले धन्यवाद व्यक्त गरेका छन् । उनले विपद्को यस घडीमा सबै क्षेत्रलाई सक्दो सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update