Hamro Patra
टीकापुर नगरपालिकाको क्वारेन्टाइनबाट २३ जना घर गए

टीकापुर, चैत २८
टीकापुर नगरपालिका–१ स्थित बहुमुखी क्याम्पस भवनमा रहेको क्वारेन्टाइनबाट आज २३ जना घर गएका छन । उनीहरु मध्ये ३ बालिका सहित ८ महिला र १५ पुरुष रहेका छन । उनीहरुको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि टीकापुर नगरपालिकाले घर पठाएको हो ।

भारतको विभिन्न ठाउँबाट आएका उनीहरुले क्वारेन्टाइनमा १६ दिन बिताएका छन । क्वारेन्टाइनमा अझै टीकापुर नगरपालिकाका विभिन्न १२ जना बसिरहेका छन । उनीहरु सबैको रिपोर्ट समेत नेगेटिभ आएको छ । पहिलो चरणमा रिपोर्ट आउन बाँकी रहेका एक जनाको समेत पुनः स्वाब परिक्षण गरिएको छ । उनको रिपोर्ट समेत नेगेटिभ रहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिएका छन । उनीहरु सबैलाई १४ दिन पुगेपछि घर पठाईने बताईएको छ ।

Khadga Memorial And Janajagriti

उनीहरु सबैको चैत २३ गते स्वाब संकलन गरिएको थियो । उनीहरुबाट लिईएको स्वाब केन्द्रिय प्रयोगशालामा परिक्षण गरिएको थियो ।

क्वारेन्टाइनबाट घर गैरहेकाहरुको क्वारेन्टाइनबाट विदाई गर्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले घरमा समेत केही दिन अन्य व्यक्तिहरुबाट टाढा बस्न आग्रह गरेका छन । उनले क्वारेन्टाइनमा बसेर सरकारको कोरोना नियन्त्रण अभियानमा सहयोग पुर्याएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा उपमेयर केशरी बिष्टले गाउँ टोलमा भारतबाट आएका अन्य व्यक्तिलाई समेत स्वाब परिक्षणका लागि सल्लाह दिन आग्रह गरिन । उनले भारतबाट फर्किएर घरमै लुकेर बसेका व्यक्तिहरुका कारण समाजमा अझै त्रासको अवस्था रहेको बताउँदै स्वाब परिक्षण गरेर आफू लगायत समाजलाई त्रासबाट मुक्त गर्न अनुरोध गरिन ।

क्वारेन्टाइनमा बसेर घर फर्किएका ओम प्रकाश राजबंशीले नगरपालिकाले उपलब्ध गराएको सेवा सुविधा प्रति खुशी व्यक्त गरे । उनी भारतको दिल्लीबाट घर फर्किएका हुन । ‘हाम्रो खानपान र बसोबासमा मेयर, उपमेयर लगायत नगरपालिकाका साथीहरुले निकै ख्याल गर्नुभयो’ उनले भने–‘यो सहयोगका लागि म सबै साथीहरुका तर्फबाट हार्दिक आभार व्यक्त गर्छु ।’

नगरपालिकाले उनीहरु सबैलाई गाडीमै राखेर घरसम्मै पुर्याउने व्यवस्था गरेको छ । उनीहरु नगरपालिकाको विभिन्न ठाउँका बासिन्दा हुन ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update