Hamro Patra
हस्ताक्षर गर्नमै बित्छन वडाध्यक्षका दिन

योगेश रावल
टीकापुर, २६ चैत
टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले एकैदिन झण्डै ७ सय सिफारिस पत्रमा हस्ताक्षर गरेका छन । उनले दिनहुँ यही हाराहारीमा सिफारिस लगायत वडा कार्यालयबाट सम्पादन हुने कागजातमा हस्ताक्षर गर्दै आएका छन । उनको दैनिकी प्रायः हस्ताक्षर गर्नमा नै बित्छ ।

उनको वडामा ४२ हजार सेवाग्राही छन । यो नगरपालिका मध्ये नेपालको सबैभन्दा बढी जनसंख्या भएको वडा हो । यस नगरपालिकाको बजार क्षेत्र समेत यसै वडामा पर्छ । यहाँ शैक्षिक संस्था, उद्योगधन्दा, सरकारी तथा गैरसरकारी संघसंस्थाको चाप पनि बढी नै छ ।


दिनभर वडा कार्यालयबाट सम्पादन हुने कागजातमा हस्ताक्षर गर्नु पर्दा वडाध्यक्ष आचार्य विकास निर्माणका काममा समय दिन नसकेकोमा तनावमा छन । उनले अनिवार्य हस्ताक्षर गर्नुपर्ने वाध्यताले निकै समस्या भैरहेको गुनासो गरे । ‘जनताको काम गर्नै प¥यो, कार्यक्रममा बोलाए जानै प¥यो’ उनले भने–‘मलाई हस्ताक्षर गर्नबाट फुर्सद छैन ।’

Khadga Memorial And Janajagriti


वडा कार्यालयबाट सम्पादन हुने ३५ किसिमका सिफारिसमा वडाध्यक्षको अनिवार्य हस्ताक्षर हुनुपर्ने कानूनी व्यवस्था छ । कतिपय सिफारिसमा कार्यवाहकको हस्ताक्षरबाट काम चलाउन मिल्ने भएपनि वैदेशिक प्रयोजनका सिफारिसमा भने वडाध्यक्षको नै हस्ताक्षर आवश्यक पर्छ । वडा कार्यालयबाट सम्पादन हुने पन्जिकरण बाहेक अन्य ४१ वटा काममा समेत वडाध्यक्षकै हस्ताक्षर आवश्यक पर्छ । पन्जिकरण अन्र्तगतका काममा भने वडा सचिवको हस्ताक्षर भए पुग्ने व्यवस्था छ ।


वडा कार्यालयबाट सम्पादन हुने अधिकांश काममा हस्ताक्षर अनिवार्य भएपछि जनप्रतिनिधिका रुपमा रहेका वडाध्यक्षले कर्मचारीले झैं दिनभर कार्यालय कुरेर बस्नुपर्ने वाध्यता रहेको छ । उनीहरुले हस्ताक्षर गर्नकै लागि दिनभर कार्यालय कुरेर बस्दा थुप्रै विकास निर्माणका काममा समय दिन नसकेको बताएका छन ।


लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्त चलाउनेले भूमिका राजनीतिकर्मीको भएपनि काम कर्मचारीको जस्तै गर्नुपर्ने वाध्यता रहेको बताए । उनले कर्मचारीले जस्तै दिनभर कार्यालय कुरेर बस्दा जनतासँग जोडिएका अन्य काम प्रभावित हुने गरेको बताए ।


‘जनतासँग बसेर विकास निर्माणका योजना बनाउनु पर्ला र कहिले काँही कार्यक्षेत्र भन्दा बाहिर जानुपर्ला । त्यसतर्फ समय नै दिन सकिएको छैन’ उनले भने–‘कार्यालयमा आउने बाहेक अरु जनतासँगको सम्बन्ध बिच्छेद हुन पुगेको छ ।’


टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले जनप्रतिनिधि भन्दा जागिरेको भूमिका बढी निर्वाह गर्नुपरेको दुःखेसो पोखे । उनले जनताको गाली सुुन्नु भन्दा जस्तोसुकै परिस्थिति भएपनि काम गर्नुपर्ने वाध्यता रहेको बताए । ‘म जनताको सेवक हुँ’ उनले भने–‘मैले समस्या भयो भनेर जनताको काम गर्न अफ्ठ्यारो मान्नु हुँदैन ।’


टीकापुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामशंकर थारुलाई समेत वडा कार्यालयबाट सम्पादन हुने कतिपय काममा वडाध्यक्षको अनिवार्य हस्ताक्षर हुनुपर्ने व्यवस्था उचित लागेको छैन । उनले कानूनी व्यवस्था नै त्यस्तो भएपछि तोके बमोजिम कार्य सम्पादन गर्नुपर्ने वाध्यता रहेको बताए । ‘सबै काम छोडेर दिनभर कार्यालयमा बस्नुपर्छ । यो ठिक भएन’ उनले भने–‘जनताका विकास निर्माणका सवालमा समय दिन सकिएको छैन ।’


वडाध्यक्ष अन्य विकास निर्माणका काममा व्यस्त हुँदा वा कार्यक्षेत्र भन्दा बाहिर जाँदा सेवाग्राहीले हस्ताक्षरका लागि कुर्नुपर्ने हुन्छ । सेवाग्राहीले यसरी कुर्नु पर्दा कतिपयको काम बिग्रने पनि हुनसक्छ । उनीहरुले समयमा कागजात बुझाउन नसक्दा ठूलो नोक्सानी व्यहोर्ने गरेका छन ।


कतिपय वडाध्यक्षहरुले सेवाग्राहीको घरमै गएर समेत हस्ताक्षर गर्ने गरेका छन । कतिपय सेवाग्राही भने वडाध्यक्ष भएकै ठाउँमा पुगेर समेत हस्ताक्षर गराउँछन । वडाध्यक्षले समेत सेवाग्राहीको मर्का बुझेर बिना झण्झट हस्ताक्षर गरिदिने गरेको बताए । ‘वडा सचिवले सबै कागजात तयार पार्छन । सोही अनुसार सिफारिस गरिन्छ’ वडाध्यक्ष चलाउनेले भने–‘मेरा कारण सेवाग्राहीलाई समस्या नहोस् भन्नेमा सचेत छुँ ।’


वडाध्यक्षको अनिवार्य हस्ताक्षर दुवै पक्षका लागि टाउको दुखाई जस्तै बनेको छ । यस्तो व्यवस्था प्रति न त सेवाग्राही खुशी छन न त वडाध्यक्ष नै खुशी देखिन्छन । वडाध्यक्षको चिन्ता जनतासँग जोडिएका अन्य काममा समय दिन नसकेको छ भने सेवाग्राही वडाध्यक्षको हस्ताक्षरका लागि केही दिन कुर्नु परेर काम बिग्रिएको नमिठो अनुभव सुनाउँछन ।


वडाध्यक्षले वडा कार्यालयबाट सम्पादन गर्ने सबै कामको नेतृत्व लिनुपर्छ । वडा कार्यालयबाट हुने काम मात्रै हैन वडाध्यक्षले नगरपालिकाले सम्पादन गर्ने काममा समेत सहभागिता जनाउनु पर्छ । नगर कार्यपालिकाको सदस्यका हैसियतले वडाध्यक्ष नगरपालिकाले सम्पादन गर्ने सबै कामको जिम्मेवार रहन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update