Hamro Patra
टीकापुर नगरपालिकाको सर्वपक्षीय बैठकः कोरोना संक्रमण रोक्न साझा प्रयास जरुरी

टीकापुर, चैत २६
टीकापुर नगरपालिकाले कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन पछिको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरेको छ । आगामी दिनमा आउन सक्ने समस्याका बारेमा नगरपालिकाले थाल्नुपर्ने पूर्वतयारीका बारेमा विभिन्न व्यक्तिले सुझाव दिएका छन ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले एकअर्का प्रतिको कुण्ठा त्यागेर महाविपत्तीको सामना गर्न एकजुट हुनुपर्ने बताए । उनले राजनीतिक विभाजनले कोरोनाको संक्रमणसँग लड्न नसकिने बताए । ‘हामी विभाजन भएर समस्या समाधान गर्न सक्दैनौं’ उनले भने–‘यतिबेला सबै तिक्तता बिर्सेर हातेमालो गर्न जरुरी छ ।’

उनले सबै कुरा सरकारको मुख ताकेर बस्दा भोलिका दिनमा समस्या विकराल हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट अहिले नै तयारी अवस्थामा लाग्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणका कामलाई थाँती राखेर भएपनि यतिबेला स्थानीय सरकारले कोरोना नियन्त्रणका पक्षमा ध्यान दिनुपर्ने बताए ।

Khadga Memorial And Janajagriti

संविधान सभा सदस्य हरि ज्ञवालीले भारतले लकडाउन खोलेपछि थुप्रै नेपालीहरु स्वदेश फर्किने र तिनको व्यवस्थापनका बारेमा अहिले नै योजना बनाईनु पर्ने बताए । उनले विभिन्न विद्यालयलाई क्वारेन्टाइनका रुपमा तयारी अवस्थामा राख्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश साँसद उमा बादीले राहत वितरणमा राजनीतिक विभेद नगर्न आग्रह गरिन । उनले सबै जनता समान भएकाले समस्या परेका बेला आफ्नो र पराईको व्यवहार गर्न नहुने बताईन ।

नेकपाका सुदूरपश्चिम सचिव तथा केरा कृषक नेपबहादुर चौधरीले किसानलाई बाली स्याहार्ने कुरामा सहज माहौल बनाउन आग्रह गरे । उनले गहुँ समयमै स्याहार्न नपाएका कारण किसानहरु समस्यामा रहेको भन्दै दूरी कायम गरेर भएपनि किसानलाई गहुँ स्याहार्न दिनुपर्ने बताए ।

सो अवसरमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले कोरोना महामारी रोक्न ब्यापार व्यवशाय बन्द गर्न तयार रहेको बताए । उनले विपत्ती रोक्नका लागि सरकारले चाल्ने सबै कदममा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

सोही अवसरमा टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले स्वास्थ्योपचार र इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहर भट्टले सुरक्षा अवस्थाका बारेमा जानकारी गराएका थिए ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले महामारी रोक्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले नगरपालिकाको प्रयासमा साथ दिन सबैलाई आग्रह गरेका छन ।

उनका अनुसार नगरपालिकाले बनाएको आकस्मिक कोषमा नगद र जिन्सी सामाग्री जम्मा गर्नेको संख्या बढ्दै गएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update