Hamro Patra
नगरपालिकालाई सहयोग गर्ने बढेः विपन्न परिवारलाई राहत वितरण सुरु

टीकापुर, चैत २५
कोरोना भाइरस संक्रमणको सम्भावित महामारीसँग लडिरहेको टीकापुर नगरपालिकालाई सहयोग गर्नेहरुको संख्या बढ्न थालेको छ ।

आज मात्रै नगरपालिकालाई सन्त निरंकारी मण्डल नेपालका प्रमुख नरबहादुर रावलले ४५ हजार रुपैयाँ सहयोग गरेका छन । उनले विपदको बेलामा समस्यामा परेका घरपरिवारलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकालाई आर्थिक सहयोग गरेको बताएका छन ।

Khadga Memorial And Janajagriti

त्यस्तै उनी नेतृत्वको सन्त निरंकारी मण्डल टीकापुरले समेत नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका लेखापाल नन्दबहादुर केसीले जानकारी दिए । उनका अनुसार चेक मार्फत प्राप्त भएको रकम बैंक दाखिला गरिएको छ ।

सन्त निरंकारी मण्डल नेपालका प्रमुख रावलले आफू र संस्थाले प्रदान गरेको आर्थिक सहयोग बराबरको चेक नगर प्रमुख तपेन्द्रबहादुर रावललाई हस्तान्तरण गरेका छन ।

त्यस्तै एक अर्का व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा नगरपालिका आकस्मिक कोषमा १० हजार रुपैयाँ जम्मा गरेका छन । उनले विपदको बेला नगरपालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

नगर प्रमुख रावलले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन । उनले विपदको समयमा सबैको साथ आवश्यक रहेको बताएका छन ।

विपन्न परिवारलाई राहत वितरण सुरु
टीकापुर नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । उसले आज मात्रै विभिन्न वडाका ३ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

नगर प्रमुख रावल, उपप्रमुख केशरी बिष्ट, वडाध्यक्षहरुले विपन्न परिवारका घरमै पुगेर चामल, दाल, नून, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरेका छन ।

नगरपालिकाका अनुसार सबैभन्दा धेरै वडा नं. ६ मा १०० घरपरिवारलाई राहत वितरण गरिएको छ । त्यसैगरी वडा नं.४, ७, ८ र ९ का ५०÷५० घरपरिवारलाई राहत वितरण गरिएको नगर प्रमुखका स्वकिय सचिव निर्मला चौधरीले जानकारी दिईन ।

उनले घरपरिवारको अवस्था हेरेर लकडाउनका कारण समस्यामा परेका अन्य वडाका बासिन्दालाई समेत नगरपालिकाले राहत स्वरुप खाद्यान्न वितरण गरिरहेको बताईन ।

‘कोही व्यक्ति भोकै बस्नुपर्ने अवस्था आएको जानकारी पाउने बित्तिकै उसको अवस्था हेरेर घरमै खाद्यान्न पु¥याउने काम समेत भैरहेको छ’ उनले भनिन्–‘सो व्यक्तिको बारेमा बुझेर मात्रै राहत दिने गरिएको छ ।’

नगरपालिकाले आफ्नो प्रोफाइल (पाश्र्व चित्र) का आधारमा विपन्न घरपरिवारको पहिचान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update