Hamro Patra
कोरोना संक्रमण ः स्वाव संकलन तिब्र

परमानन्द पाण्डे
टीकापुर, चैत्र २४
कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ९ प्रतापपुरका २१ वर्षीय युवकमा कोराना पुष्टि भएसँगै स्वाव संकलन तिब्र पारिएको छ ।

भारतको मुम्बईबाट फर्किएका ती युवकमा कोराना पुष्टि भएपछि लम्की चुहा, टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिकाका क्वारेन्टाइनमा राखिएकाहरुको स्वाव संकलनको कार्य तिब्र पारिएको हो ।

शनिवार सम्पन्न मन्त्रिपरिषदको बैठकले कैलाली, कञ्चनपुर र बाग्लुंगमा कोरोना परीक्षण तीब्र पार्ने निर्णय गरेको थियो ।

Khadga Memorial And Janajagriti

आइतवार टीकापुर अस्पतालका चिकित्सकहरुको टोलीले ती नगरपालिका र गाउँपालिकाहरुबाट स्वाव संकलन गरेको हो ।

लम्की चुहा नगरपालिकामा आइतवार नै संक्रमित युवकलाई राखिएको प्रतापपुरस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका एक नाबालकसहित दुई जनाको पुनः स्वाव संकलन गरिएको छ ।

नमूना स्वाव पर्याप्त नभएकाले टीकापुर अस्पतालका चिकित्सकहरुको टोलीले ती दुई जनाको पुनः स्वाव संकलन गरेको क्वारेन्टाइनका इञ्चार्ज एवं प्रतापपुर स्वास्थ्य चौकीका प्रमुख करिसिंह भुलले बताए । क्वारेन्टाइनमा ती नाबालकका बुवा आमा समेत बसेका छन् ।

‘नमूना स्वाव पर्याप्त नभएकाले पुनः स्वाव संकलन गरिएको छ’ भुलले भने ‘ती नाबालकका बुवा आमाको रिपोर्ट भने नेगेटिभ आएको छ ।’ ती बालक र अर्का युवक समेत भारतको मुम्बईबाट संक्रमित पुष्टि भएका युवकसँगै आएका थिए । ११ गते धनगढीको गौरीफन्टा नाकाबाट पुगेका उनीलाई १२ गते मात्रै क्वारेन्टाइनमा राखिएको थियो ।

यता, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अस्पतालको टोलीले टीकापुर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका ३७ जनाको स्वाव संकलन गरेको बताए । रावलले भने ‘क्वारेन्टाइनमा राखिएका ३७ जनाकै स्वाव संकलन गरिएको छ ।’

यसैबीच, जानकी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जनाको समेत स्वाव संकलन गरिएको छ । टीकापुर अस्पतालका चिकित्सकहरुको टोलीले क्वारेन्टाइनमा राखिएकाहरुको स्वाव संकलन गरेको गाउँपालिका अध्यक्ष प्रदीप कुमार चौधरीले बताए ।
संकलन गरिएको स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीपठाइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update