
घोडाघोडी, वैशाख १५
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा गएका थिए ।
उक्त मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताए ।
झाडापखालको उपचार गराउन गएका सोही ठाउँका खडक बहादुर साउँदले भने “मलाई सलाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने वित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”
बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गरे । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उनको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाए ।
मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई मेडिकल गएको बताउँदै भने “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्यो । केहि नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो ? सुई लगाउने मान्छे किन भाग्यो ? हामिलाई न्याय चाहिन्छ ।”
धिरजको निधन भएको केहि क्षणमै ल्याव असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।
घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले जानकारी दिए ।