Hamro Patra
निजी स्कुलका सञ्चालकहरुको इखले जन्मिएको माउण्ट सैपाल

टीकापुर, बैशाख १५
२०६५ सालमा टीकापुरस्थित निजी र संस्थागत विद्यालयका शिक्षकहरुले तलब बढाउन माग गरे । उनीहरुले समिति नै बनाएर आन्दोलन सुरु गरे । निजी विद्यालयका तर्फबाट आन्दोलनको नेतृत्व गरेका थिए हाल माउण्ट सैपाल इन्टरनेशनल एकाडेमीका प्रिन्सिपल छत्रराज जोशीले । 

विद्यालय सञ्चालकहरुले उनीहरुको कुरै सुनेनन् । उनीहरुले उल्टै शिक्षकहरुलाई हेपाहा व्यवहार देखाए । सञ्चालकहरुले सक्ने भए विद्यालय चलाएर देखाउन भनेर चुनौती दिए । केही शिक्षकहरुलाई यो कुराले छोयो । उनीहरु मध्ये ७ विद्यालयमा कार्यरत २८ जनाले राजिनामा दिए । 

ती २८ जना शिक्षकहरुले विद्यालय चलाएर देखाउ भन्ने सञ्चालकहरुको चुनौतीलाई सामना गर्ने निष्कर्ष निकाले । उनीहरुले आफै शिक्षक र आफै सञ्चालक रहेर स्कुल खोल्ने तयारी थाले । २०४६ सालमा हालको बर्दगोरीया गाउँपालिका बौनियाँमा दर्ता भएको स्कुललाई टीकापुर सार्ने सहमति भयो । सो विद्यालय द्वन्द्वका कारण बन्द हुने अवस्थामा थियो । 

Mount-Saipal-(1)-1745817553.jpeg
विद्यालय टीकापुर सारियो । नाम राखियो, माउण्ट सैपाल इन्टरनेशनल एकाडेमी । त्यसको नेतृत्व गरे हाल प्रबन्ध निर्देशक रहेका डिल्लीराज रेग्मीले । उनी विद्यालयको संस्थापक प्रिन्सिपल बने । सञ्चालकहरुका बीचमा पढाए वाफत तलब लिने तर लगानीको लाभांश नलिने सहमति भयो । उनीहरुले बरु विद्यालय घाटामा गए व्यहोर्ने सामुहिक प्रतिवद्धता गरे । उनीहरुले फाइदा भएको रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने प्रतिवद्धता समेत  गरे । 

उनीहरुले विद्यालय नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा सञ्चालन गर्ने जमर्को गरे । अहिले नेपाली माध्यम बन्द भैसकेको छ । अर्काको विद्यालयमा शिक्षकको जागिर छोडेर ईखले सञ्चालक बन्न तम्सिएका उनीहरुका अघि चुनौतीको ठूलो पहाड थियो । तर सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका उनीहरुले चुनौतीको सामुहिक रुपमा सामना गरे । पुष महिनामा राजिनामा दिएका शिक्षकहरु चैत महिनासम्म अभिभावकका घरघरमा पुगे । उनीहरुले अभिभावकलाई आफ्नो बालबालिकालाई कहाँ पढाउने ? भनेर फर्म भर्न लगाए । अभिभावकले भरेको फर्मकै आधारमा उनीहरुले विद्यालयको तयारी   थाले । भर्ना खोलेको ७ दिनमै ८२० विद्यार्थी भर्ना भए । ‘आठौं दिनबाट भर्ना अभियान रोक्यौं । त्यो हामीले नसोचेको उपलब्धी थियो’ संस्थापक प्रिन्सिपल रेग्मीले भने–‘हामीले कमाएको गुडविलले सहज भएको हुनसक्छ ।’

विद्यालयको सुखद सुरुवातले अहिलेसम्म कतै अल्झिनु परेको छैन । उनीहरुलाई आफै सञ्चालक र आफै शिक्षक भएका कारण पनि काम गर्न सहज भयो । कोरोनामा उनीहरुले १० महिनाको तलब लगेनन् । विद्यार्थीसँग मासिक शुल्क समेत उठाएनन् । सञ्चालक बाहेकका शिक्षक कर्मचारीको तलब भने रोकेनन् । 

विद्यालय सहकारी सिस्टममा अघि बढेको छ । सञ्चालकको संख्या २८ बाट बढेर ४८ पुगेको छ । शिक्षकलाई नै सञ्चालक बनाउने नीति अनुसार संख्या बढेको हो । पछि जोडिएका सञ्चालकहरु पनि सुरुवातमा भएका प्रतिवद्धताप्रति सहमत छन । उनीहरुले दैनिक हिसाब सार्वजनिक गर्ने गरेका छन । हरेक महिना सञ्चालक समितिको बैठक बस्छ । सो बैठकमा महिनाभरिको हिसाब सार्वजनिक गरिन्छ ।

विद्यालय सुरुवातमा खक्रौला रोडसँगै जोडिएको थियो । अर्काको जग्गामा टहरा बनाएर विद्यालय सुरु गरिएको थियो । अहिले विद्यालय वनगाउँ नजिकै सारिएको छ । पूरानो ठाउँमा समेत कक्षा ५ सम्म सञ्चालन मै छ । उनीहरुले वनगाउँमा विद्यालयका नाममा १० कठ्ठा जमिन खरिद गरेका छन । थप ३ कठ्ठा जमिन समेत रहेको छ । उनीहरुले आफ्नै जमिनमा भवन निर्माण गरेका छन । विद्यार्थीको सहजताका लागि दुईवटा बस छन । करिब ९ सय बढी विद्यार्थी अध्ययनरत छन । 

विद्यालयको शैक्षिक अवस्था सन्तोषजनक छ । गतवर्ष एसईईमा निजी विद्यालयबाट छात्रा तर्फ विनु रावल कैलाली जिल्ला प्रथम भईन । यो वर्ष कक्षा ८ मा ८७ प्रतिशत र कक्षा ५ मा शतप्रतिशत रिजल्ट हाँसिल गरेको छ । विद्यालयबाट एसईई गरेका थुप्रै विद्यार्थीले उच्च शिक्षा हाँसिल गरेका छन । २ जना चिकित्सक, ८ जना इन्जिजियर, ४ जना सिए, १ जना भेटेनरी डाक्टर छन । निजामती लगायतका ठाउँमा नाम निकाल्नेको संख्या पनि धेरै छ ।

पुष महिनामा राजिनामा दिएका शिक्षकहरु चैत महिनासम्म अभिभावकका घरघरमा पुगे । उनीहरुले अभिभावकलाई आफ्नो बालबालिकालाई कहाँ पढाउने ? भनेर फर्म भर्न लगाए । अभिभावकले भरेको फर्मकै आधारमा उनीहरुले विद्यालयको तयारी   थाले । भर्ना खोलेको ७ दिनमै ८२० विद्यार्थी भर्ना भए । ‘आठौं दिनबाट भर्ना अभियान रोक्यौं । त्यो हामीले नसोचेको उपलब्धी थियो’ संस्थापक प्रिन्सिपल रेग्मीले भने–‘हामीले कमाएको गुडविलले सहज भएको हुनसक्छ ।’

उनीहरु सुविधा सम्पन्न प्लसटुको योजनामा छन । त्यसका लागि काठमाण्डौंको राम्रो कलेजसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक रेग्मीले जानकारी दिए । विद्यालयको सुरुवाती चरणमा हाल प्रबन्ध निर्देशक रहेका संस्थापक प्रिन्सिपल रेग्मीले निकै मेहनत गरे । उनले त्यत्रो ठूलो टिमलाई जोगाउन महत्वपूर्ण भूमिका खेले । आज टिमको धैर्यताले विद्यालय सफलताको बाटोमा अघि बढेको छ । रेग्मी २०६५ देखि २०७८ सम्म प्रिन्सिपल रहे । 

रेग्मीपछि प्रिन्सिपलको जिम्मेवारी छत्रराज जोशीले सम्हाले । उनले २०५९ जेठबाट टीकापुरस्थित पशुपति एकाडेमीमा पढाउन सुरु गरेका थिए । मानविकीमा स्नातक गरेर शिक्षण पेशामा लागेका जोशीले पढ्दै पढाउदै स्नातकोत्तर तह उत्तीर्ण गरेका छन । उनले धनगढीस्थित पञ्चोदय माविबाट २०५२ मा एसएलसी उत्तीर्ण गरेका हुन । मानविकीमा स्नातक तहसम्मको अध्ययन कैलाली बहुमुखी क्याम्पसबाट पूरा गरे । उनी स्नातकोत्तर तहको अध्ययनका लागि काठमाण्डौं जाने तयारीमा थिए । यही बेला उनका आफन्त हिरण्य शर्माले पढाउँदै पनि पढ्न सक्ने सल्लाह दिए । 

Mount-Saipal-(3)-1745817557.jpeg
त्यसपछि उनले नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट शिक्षा संकायमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे । यो बिचमा उनले शिक्षण बाहेकको पेशा तर्फ ध्यानै दिएनन् । ‘खै किन हो मलाई शिक्षक बाहेक अन्त ध्यानै गएन’ उनले भने–‘म बालबालिकासँगै रमाए ।’ उनको दैनिकी पढाउनमै बित्छ । आफ्नो विद्यालय मात्रै हैन उनले आरएमई स्कुल र बीरेन्द्र विद्या मन्दिर क्याम्पसमा समेत आंशिक प्राध्यापकका रुपमा पढाउँछन् । 

उनले प्रिन्सिपलको जिम्मेवारी थोरै चुनौतीपूर्ण रहेको बताए । तर उनी टिमको सहयोगले हरेक चुनौती सहज भैरहेको बताउँछन् । ‘हामी सबै मिलेर हरेक चुनौतीको सामना गर्छौ’ उनले भने–‘सबैको सामुहिक भावनाले नै विद्यालय यो स्थानमा पुगेको छ ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update