-1745742018.jpeg)
टीकापुर, बैशाख १४
निजी क्षेत्रबाट सञ्चालित टीकापुरको अग्रणी शैक्षिक संस्थाको परिचय बनाउन सफल आरएमई स्कुल स्थापना निकै सकसपूर्ण रह्यो । सो स्कुल टीकापुरकै न्यू लाईट एजुकेशन होमबाट बाहिरिएका प्रिन्सिपल तेजराज खनाल लगायतका नौ जनाले सञ्चालन गर्न जमर्को गरे ।
धनगढीमा सञ्चालन भएर बन्द रहेको स्कुललाई टीकापुर सार्ने कुरामा निकै धेरै अवरोध सिर्जना गरियो । निजी विद्यालयहरुको छाता संगठनले त तत्कालिन जिल्ला शिक्षा कार्यालय कैलालीमा स्विकृत नदिनु भनेर पत्राचार नै गर्यो । उसले त्यो भन्दा माथिल्लो निकायमा समेत भनसुन गरेर दवाव दियो । ‘संस्थागत मात्रै हो र ? व्यक्तिगत दवाव त अझ धेरै थियो’ आरएमई स्कुलका प्रिन्सिपल खनालले ती दिन सम्झिदै भने–‘तैपनि स्कुलले स्विकृती पायो ।’
भाडाको घरजग्गामा टहरा बनाएर २०६७ सालमा आरएमई स्कुल शुभारम्भ भयो । नर्सरीदेखी कक्षा १० सम्म भर्ना खुल्यो । एकजना विद्यार्थी थिएन । खनालका सहयात्रीहरु डराएका थिए । अन्य साथीहरुले समेत एकैपटक ठूलो जोखिम नमोल्न सुझाव दिएका थिए । तरपनि खनालले हिम्मत हारेनन् । ‘मलाई आत्मविश्वास थियो’ उनले भने–‘म आफ्नो प्लानमा ढुक्क थिए ।’
पहिलो वर्ष नै ६५० विद्यार्थी भर्ना भए । एकवर्षपछि एसएलसी परिक्षा भयो । २९ जनाले परिक्षा दिए । ती मध्ये एक छात्राले बिचैमा परिक्षा छोडिन । बाँकी २८ जना सबै उत्तीर्ण भए । उनीहरुको प्रातांक पनि राम्रै रह्यो । स्कुलले मन्टेश्वरी कक्षालाई फोकस गर्यो । मन्टेश्वरीको जगले माथिल्लो कक्षासम्म राम्रो प्रभाव पार्यो । जसले अभिभावक अझ धेरै आकर्षित भए । स्कुलले अभिभावकको विश्वास आर्जन गर्दै गयो । ‘सबैभन्दा ठूलो कुरा अभिभावकको विश्वास हो’ खनालले भने–‘जुन हामीले छोटो समयमै प्राप्त गर्न सफल भयौं ।’
स्कुलमा वर्षेनी विद्यार्थीको चाप बढ्दै गयो । दोस्रो वर्ष विद्यार्थी संख्या ८ सय, तेस्रो वर्ष १ हजार, चौथो वर्ष १ हजार ६ सय । यही रफ्तारमा विद्यार्थी संख्या बढ्दै गएपछि प्रिन्सिपल खनाल लगायतको टिम हौसिदै गयो । अहिले स्कुलमा विद्यार्थी संख्या २ हजार ३ सय पुगेको छ ।
प्रिन्सिपल खनाल लगायतका सबै नौ जना शिक्षक स्कुलका लगानीकर्ता हुन । उनीहरुसँगै लगानीकर्ताका रुपमा जोडिन पुगे व्यवशायी टेकराज रेग्मी । खनाल लगायत नौजनाको टिमले बनाएको प्लानमा व्यवशायी रेग्मी जोडिएपछि सुनमा सुगन्ध थपिए झैं भयो ।
सबैजना लगानीकर्ताले दश वर्ष भित्र आफ्नै भौतिक संरचना तयार गरेर स्कुल सञ्चालन गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरे । त्यो दश वर्ष सबैले मेहनतका साथ काम गरे । उनीहरुसँगै जोडिएका अन्य शिक्षक कर्मचारीहरुले समेत आफ्नै सम्झेर मेहनत गरे । जसको फलस्वरुप प्रतिवद्धता पूरा भयो ।
टीकापुर नगरपालिका वडा नम्बर १ मुनुवा रोडको उत्तरपूर्व तर्फ विशाल भवन खडा भएको छ । त्यसको वरिपरि होस्टेल लगायतका थुप्रै संरचना तयार भएका छन । अहिले त्यही विशाल भवनमा सञ्चालित छ आरएमई स्कुल । स्कुलले प्लसटु कक्षा समेत सञ्चालन गर्दै आएको छ । जहाँ विज्ञान र व्यवस्थापन विषय पढाई हुन्छ । प्लसटुको रिजल्ट समेत राम्रो छ । २०८० को कक्षा १२ को परिक्षामा छात्रा सुप्रिया जोशीले सुदूरपश्चिम प्रदेश प्रथम स्थान हासिल गरिन । प्लसटु पास गरेर गएका अन्य धेरै विद्यार्थीले छात्रवृत्तिमा नाम निकालेका छन ।
ब्रिटिस काउन्सिलले एकपटक तीन वर्षका लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड सो स्कुलले सन् २०१६ देखी दुई पटक प्रदान गरेको छ । स्कुलले सुदूरपश्चिमबाट वेष्ट स्कुलको अवार्ड समेत हासिल गरेको छ ।
स्कुलले प्लसटु तर्फको विज्ञान विषयलाई अझ धेरै फोकस गरेको छ । राम्रो अंक प्राप्त गरेर एसईई उत्तीर्ण भएका विद्यार्थीको विज्ञान विषय पढ्ने चाहनालाई पूरा गर्न स्कुलले कुनै कसर बाँकी राखेको छैन । ‘हामीले राम्रो जनशक्ति लगायतका कुरामा कन्जुस्याँई गरेका छैनौं’ खनालले भने–‘उत्कृष्ठ अंक ल्याउने विद्यार्थी पनि बाहिर जानबाट रोकिएका छन ।’
स्कुलले राम्रो जनशक्तिलाई सरकारी भन्दा बढी सुविधा दिएर राखेको छ । विज्ञान विषय पढाउने शिक्षकहरुलाई पूर्णकालिन राखेको छ । खनालले विज्ञान विषय पढ्ने विद्यार्थीको चाहना पूरा भएको बताए । उनले गतवर्ष ३ जना मुक्त कमलहरीलाई पूर्ण छात्रवृत्तिमा विज्ञान विषय पढाएको बताए । ‘उनीहरुले बाहिर गएर पढ्ने अवस्था थिएन’ खनालले भने–‘यस्ता थुप्रै विद्यार्थीको चाहना पूरा भएको छ ।’
स्कुलमा शिक्षक कर्मचारी गरी १३६ जना कार्यरत छन । ती सबैको कमाण्ड प्रिन्सिपल खनालले गर्छन । उनले विभिन्न विभाग गठन गरेका छन । ती विभागका संयोजकलाई जिम्मेवारी तोकेका छन । उनीहरुले जिम्मेवार ढंगले काम गरे नगरेको खनालले हेर्छन । उनका अनुसार अहिलेसम्म सबैले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेका छन । ‘म एक्लैले केही गरेको हैन’ उनले भने–‘सफलताको मुख्य आधार नै मेरो टिम हो । जसले आफ्नै सम्झेर काम गरिरहनु भएको छ ।’
प्रिन्सिपल खनाल आरएमई स्कुलका ब्राण्ड हुन । उनी प्रति अभिभावकको अथाह विश्वास छ । उनले व्यवहारतः त्यो विश्वास आर्जन गरेका छन । उनले जगतपुरको राष्ट्रिय प्राविबाट शिक्षारम्भ गरे । कक्षा ६ मा टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिर भर्ना भएका खनालले २०५१ मा एसएलसी उत्तीर्ण गरे । स्नातक तहसम्मको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट पूरा गरेका खनालले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरे ।
२०६१ मा स्नातकोत्तर सकेका खनाल विद्यावारिधी गर्न अमेरिका जान चाहन्थे । उनले तयारी समेत गरेका थिए । साथीहरुको जोडबल पनि अमेरिका जाने तिरै थियो । घरपरिवारको नहुने कुरै भएन । उनी २०६२ को नयाँ वर्षतिर घर आएका थिए । टीकापुरका तीन वटा विद्यालय मिलेर न्यू लाईट एजुकेशन होम बनेको थियो । सञ्चालक महेन्द्र शर्माले प्रिन्सिपलको अफर गरे । उनले लामो समय पढाएका पनि थिएनन् । केही वर्षअघि ३ महिना काठमाण्डौं र ७ महिना जति पशुपति एकाडेमीमा पढाएको अनुभव मात्रै थियो ।
स्कुलमा शिक्षक कर्मचारी गरी १३६ जना कार्यरत छन । ती सबैको कमाण्ड प्रिन्सिपल खनालले गर्छन । उनले विभिन्न विभाग गठन गरेका छन । ती विभागका संयोजकलाई जिम्मेवारी तोकेका छन । उनीहरुले जिम्मेवार ढंगले काम गरे नगरेको खनालले हेर्छन । उनका अनुसार अहिलेसम्म सबैले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेका छन । ‘म एक्लैले केही गरेको हैन’ उनले भने–‘सफलताको मुख्य आधार नै मेरो टिम हो । जसले आफ्नै सम्झेर काम गरिरहनु भएको छ ।’
उनले शर्माले दिएको अफर एक वर्षका लागि स्विकारे । एक महिना पछि काठमाण्डौं गए । सँगै पढेका साथीहरुले गिँज्याए । उनीहरुले पढेलेखेर मान्छे शहर पस्छ तिमी गाउँ गयौ भने । उनले ती सबै कुराको कुनै वास्ता गरेनन् । काठमाण्डौंको डेराको बसाई अन्त्य गरेर टीकापुर फर्किए । ‘मेरो मनमा कहिँ कतै शिक्षक बन्नुपर्छ भन्ने थियो’ उनले भने–‘थोमस वर्गिस र रत्नप्रसाद सन्ज्यालको छाप मेरो मनमा परेको थियो ।’
खनालका अनुसार वर्गिस र सन्ज्याल उनका आदर्श हुन । उनले हरेक संकटको बेलामा वर्गिस र सन्ज्याललाई सम्झिने बताए ।उनलाई यो बिचमा प्राध्यापक बन्ने अफर पनि आएको थियो । टीकापुर बहुमुखी क्याम्पसमा अंग्रेजी विषयको प्राध्यापक आवश्यक थियो । अंग्रेजी विषयका प्राध्यापक भीम रावल छोडेर अमेरिका गैसकेका थिए । तत्कालिन क्याम्पस प्रमुख जगतबहादुर सिँह रावलले खनाललाई अफर गरे । उनले त्यो कुरा विद्यालय सञ्चालकलाई सुनाए ।
न्यू लाईटले २०६३ मा प्लसटु सुरु गरेको थियो । सञ्चालकको भरोसा खनाल माथि नै थियो । उनै खनालले क्याम्पस तिर जाने सोच बनाए पछि सञ्चालक आत्तिए । तिनै मध्येका एक माधव आचार्यले नयाँ बनाएका डेस्कबेन्च विद्यालयमा सारौं र विद्यार्थी अन्यत्र पठाई दिउ भने । यो कुराले खनालको मनमा छोयो । ‘मैले आफूमाथि गरेको भरोसा टुट्न दिनु हुँदैन भनेर सबै कुरा बिर्सिए’ उनले भने–‘प्राध्यापक बन्ने अवसरलाई छोडेर अघि बढे ।’
उनले २०६२ देखी २०६६ सम्म प्रिन्सिपल भएर काम गरे । विद्यार्थी संख्या १ हजार ७ सय थियो । विद्यालय राम्रै चलेको थियो । सञ्चालकहरुसँग केही कुरा मिलेन । उनले छोड्ने निधो गरे । यो कुरा अन्य शिक्षकहरुबीच फैलियो । त्यस मध्ये आठ जनाले समेत विद्यालय छोडे । त्यसपछि जन्मियो आरएमई स्कुल ।
खनाललाई यो बिचमा कैयौं पटक शिक्षण पेशा छोडेर निजामती तर्फ जाने सोच पनि नआएको हैन । उनले कैयौं पटक फर्म भरेका पनि थिए । तर विद्यार्थीको भविष्य र आफूले पाएको जिम्मेवारी सम्झिएर परिक्षा नै दिएनन् । ‘मैले धेरै रहर रहरमै सिमित राखेर अघि बढेको छुँ । कैयौं अफ्ठेरो अवस्थामा छोड्न नखोजेको हैन तर छोड्नै सकेन’ उनले भने–‘सायद म शिक्षक बन्नकै लागि जन्मिएको हुँ ।’
उनलाई शिक्षण पेशा नछोडेकोमा त्यत्ति धेरै पछुतो छैन । तर एउटा कुराले भने बेकारमा शिक्षक भए छुँ जस्तो लाग्छ रे । उनले भने–‘जतिबेला राज्यले निजी शैक्षिक क्षेत्रलाई विभेद गर्छ र आम मानिसले दलाल माफिया जस्ता आरोप लगाउँछन । हो, त्यतिबेला भने निकै धेरै अपमान महशुस हुन्छ ।’
उनले अघि भने–‘यही बेला आफूले पढाएका विद्यार्थीको प्रगति र उनीहरुले आफू प्रति गरेको सम्मान सम्झिन्छु । मन भित्रैबाट सन्तुष्टी पैदा हुन्छ । ती सबै कुरा बिर्सिन्छु ।’
उनले राज्यको शिक्षा प्रतिको स्पष्ट दृष्टिकोण नभएका कारण शैक्षिक क्षेत्रको विकास हुन नसकेको बताए । उनी राज्यको निजी शैक्षिक क्षेत्र प्रतिको धारणा गलत रहेको बताउँछन । उनले स्थानीय सरकारले गुण दोषका आधारमा शैक्षिक संस्थालाई पुरस्कृत र दण्डित गर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘राम्रोलाई पुरस्कृत गरौं । नराम्रोलाई दण्डित गरौं’ उनले भने–‘अनि मात्र एकापसमा राम्रो गर्ने प्रतिस्पर्धा हुन्छ ।’ उनले यस कुरामा टीकापुर नगरपालिकाले गम्भिर ढंगले सोच्न जरुरी रहेको बताए ।
युवाहरु विदेशीने क्रम बढेको छ । जसले यो देशमा युवा बस्नै मान्दैनन् भन्ने भाष्य विकास भएको छ । तर हाम्रो समाजमा थुप्रै युवाहरु छन । जसले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेका छन । टीकापुरमा थुप्रै युवाहरुले शैक्षिक संस्थाको नेतृत्व गरेर शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याईरहेका छन । लोकतन्त्र दिवसको अवसर पारेर हामीले शैक्षिक संस्थाको नेतृत्व गर्दै शिक्षा विकासमा योगदान पुर्याईरहेका तिनै युवाहरुको बारेमा थोरै भए पनि क्रमिक रुपमा लेख्ने प्रयास सुरु गरेका छौं । –सम्पादक ।