Hamro Patra
साँफेबगर आगलागी पीडितका लागि प्रदेश सरकारले १० लाख दिने

धनगढी, वैशाख १३
सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।

मानवीय राहत स्वरूप पीडित परिवारका लागि तत्कालै १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले सहयोग रकम सम्बन्धितलाई नियमानुसार उपलब्ध गराउनका लागि साँफेबगर नगरपालिकामा पठाउने निर्णय भएको उल्लेख गरे ।

शनिबार बिहान ३ बजेदेखि लागेको आगो सुरक्षा निकाय, स्थानीयको प्रयासमा बिहान ६ बजे नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट १० परिवारको घर, पसल जलेर ध्वस्त भएको प्रारम्भिक विवरण आएको मुख्यमन्त्री शाहको भनाइ थियो ।

उनले तीन करोड ८६ लाख रुपियाँ बराबरको क्षति भएको खबर आएको उल्लेख गर्दै भने ‘क्षति विस्तृत विवरण आएपछि थप अन्य सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ 

केही हप्ता अगाडि मात्रै अछामकै बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भिषण आगलागी भएको थियो । आगलागी लगायत विभिन्न विपद्का घटना घटिरहेकाले सबैलाई सतर्क रहन मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update