Hamro Patra
नगर शिक्षा समितिमा पाँच सदस्य मनोनित

टीकापुर, बैशाख १३
टीकापुर नगरपालिकाको हिजो सम्पन्न कार्यपालिका बैठकले नगर शिक्षा समितिमा  सदस्य मनोनित गरेको छ । बैठकले दुई जना कार्यपालिका सदस्य र तीन जना सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक मध्येबाट मनोनित गरेको हो । 

कार्यपालिकाको बैठकले शिक्षा समितिका सदस्यहरुमा सामुदायिक विद्यालयका प्रधानाध्यापकका तर्फबाट जोगी रावल र हिरन चौधरीलाई मनोनित गरेको छ भने संस्थागत विद्यालयका तर्फबाट लिखराम चौधरीलाई सदस्यमा मनोनित गरेको हो ।

बैठकले कार्यपालिका सदस्यबाट राजरानी चौधरी र सरस्वती तिरुवालाई शिक्षा समिति सदस्यमा मनोनित गरेको हो । मनोनित सदस्यहरुको कार्यकाल दुई वर्षको हुनेछ । 

यसअघि सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकबाट मनोनित गरिएका तीन सदस्यहरुको कार्यकाल सकिएपछि नगर शिक्षा समितिलाई पूर्णता दिन मनोनित गरिएको नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । 

‘तीन जना सदस्यहरुको कार्यकाल सकिएको थियो, हामीले तीन जना नयाँ सदस्यहरु कार्यपालिकाको बैठकबाट मनोनित गरेका छौं’ नगर प्रमुख थारुले भने ‘कार्यपालिका सदस्यहरु राजरानी चौधरी र सरस्वती तिरुवालाई समेत शिक्षा समितिको सदस्यमा मनोनित गरिएको छ ।’

टीकापुर नगरपालिकाको नगर शिक्षा ऐनमा नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा समिति गठन गर्ने व्यवस्था छ । ऐन अनुसार समितिका सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, दुई जना कार्यपालिका सदस्य, एक महिलासहित संस्थागत र सामुदायिक विद्यालयका तीन जना प्रधानाध्यापक, शिक्षाप्रेमी, महिला, दलित, अपाङ्गता क्षेत्रबाट एक/एक जना सदस्य, नगर शिक्षक महासंघका नगर अध्यक्ष तथा शिक्षा शाखा प्रमुख सदस्य सचिवसहित १५ सदस्यीय शिक्षा समिति हुने व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update