Hamro Patra

टीकापुर, चैत्र २०

कोरोना त्रास फैलिएसँगै भारतको खिरी जिल्ला दीपनगरमा ३९ जना नेपाली भारतीय क्वारेन्टाइनमा राखिएका छन् । चैत्र १५ गते भारतका विभिन्न ठाउँबाट नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई भारतीय प्रहरीले क्वारेन्टाइनमा राखेको हो । कोरोना संक्रमण फैलिएसँगै नेपाल फर्किएका उनीहरु भजनी नगरपालिका वडा नं. ५ को लालबोझी घाटबाट नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

Khadga Memorial And Janajagriti

दीपनगरका स्थानीय गुरमित सिंह सरदारले नेपाल फर्किरहेका उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दीपनगर स्कुलको क्वारेन्टाइनमा राखिएको बताए । ‘उनीहरु साँझको समयमा नेपाल जाँदै थिए, प्रहरीले नियन्त्रणमा लिएको हो’ सरदारले भने ‘दीपनगर स्कुलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।’ सरदारका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छ । सामान्य स्वास्थ्य चेकजाँच, नियमित खानपान र बसोबासको व्यवस्था मिलाइएको सरदारले बताए ।

भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशव बुढाका अनुसार क्वारेन्टाइनमा राखिएका मध्ये ३४ जना कैलालीको भजनी, २ जना घोडाघोडी नगरपालिकाका रहेको बताए । त्यस्तै बर्दिया, बाँके, पर्सा जिल्लाका एक एक जना रहेका छन् । उनीहरु मध्ये ९ महिला र ३० जना पुरुष रहेका छन् भने ७ जना बालबालिका छन् ।

उनीहरु भारतको लखनऊ, सीतापुर, बहराइच र इटहवा शहरमा काम गर्दै आएका थिए । ‘भारतीय क्वारेन्टाइनमा बसेका नेपालीले क्वारेन्टाइनमा खाना, बस्नको समस्या छ भनेर खबर गरेका थिए’ अध्यक्ष बुढाले ‘खानाको प्रबन्ध गरेर हामी जान खोजेका थियौं, सुरक्षाकर्मीले जान दिएनन् ।’ उनीहरुको अवस्थाबारे खासै जानकारी हुन नसकेको बुढाले बताए ।

भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले दीपनगरको स्कुलको क्वारेन्टाइनमा नेपालीहरु रहेको बताए । चौधरीले उनीहरुलाई क्वारेन्टाइनमा समस्या भएको बारे कैलालीका प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिएको बताए । नगर प्रमुख चौधरीले भने ‘सिडिओ सापसँग कुराकानी भएपछि उहाँले खिरीका डिएमसँग कुराकानी गरेर समाधान गरिएको छ, अहिले त्यस्तो समस्या छैन ।’ दुबै देशका सीमाबाट प्रवेश गर्न रोक लगाएपछि उनीहरु नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर धामीले दीपनगरमा केही नेपाली रहेको जानकारी आए पनि उनीहरुको अवस्थाबारे थाहा नभएको बताए । ‘सीमा बन्द छ, उनीहरुको अवस्थाबारे जानकारी हुन सकेको छैन, सञ्चार सम्पर्क पनि हुन सकेन’ प्रहरी निरीक्षक धामीले भने ‘सीमा बन्द भए पछि आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।’ खुल्ला सीमाना भएका कारण समेत भारतीय नाकाहरुबाट नेपालीहरु नदी तरेर नेपाल प्रवेश गरेका थिए ।

यता, टीकापुर नगरपालिकाले समेत १६ जना भारतीय नागरिकहरुलाई क्वारेन्टाइनमा राखेको छ । नेपाल र भारतबीच दुबै देशका नागरिकलाई आफ्नै ठाउँमा क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update