
टीकापुर, बैशाख १२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाउन नसक्दा कैलालीमा रेबिज खोपको चरम अभाव भएको छ । मन्त्रालयले धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा माग अनुसार रेबिज खोप उपलब्ध गराउन नसक्दा खोपको चरम अभाव भएको हो ।
आपूर्ति व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्तपाल, महाकाली अस्पताल र ९ वटै जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा रेबिज खोप उपलब्ध गराउँदै आएकोमा मन्त्रालयले समयमै खोप पठाउन नसक्दा खोपको चरम अभाव भएको छ । खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरु निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य भएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका कोल्डचेन अफिसर ट्विंकल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि रेबिज खोपको अभाव रहेको बताइन् । ‘हामीले मन्त्रालयलाई माग फाराम पठाई सकेका छौं, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भन्दै आएको छ’ कुँवरले भनिन् ‘कैलाली कञ्चनपुरका प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) रेबिज खोजको माग हुँदै आएको छ, हामीले केही खरिद गरेर काम चलाए पनि मन्त्रालयबाट नआउँदा खोपको अभाव भएको हो ।’
यता, टीकापुर अस्पतालका खोप प्रमुख मोहन सिंह साउँदले एक हप्तादेखि अस्पतालमा रेबिज खोपको अभाव भएको बताए । साउँदले दिएको जानकारी अनुसार २०८२ को बैशाखमा ११ गतेसम्म १३४ जना बिरामीले रेबिजको खोप लगाएका छन् ।
‘बिरामीको चाप अनुसार रेबिज खोपको आपूर्ति हुन सकेको छैन, ११ दिनमै १३४ जनाले खोप लगाएका छन्’ खोप प्रमुख साउँदले भने ‘प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले खोप समयमै नपठाउँदा बिरामीहरु समस्यामा परेका छन् ।’
टीकापुर अस्पतालमा मात्रै दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरु आउने गरेको उनले बताए । ‘हामीले मासिक तीन शय भाइल माग्ने गरेका छौं, यो आर्थिक वर्षको शुरुदेखि नै मासिक १३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ, आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो ।’
अस्पतालमा रेबिज खोजको अभाव भएपछि स्वास्थ्य बिमा गरेका विरामीहरुले समेत निजी क्लिनिकबाट खरिद गरेर खोप लगाउनु परेको छ । ‘स्वास्थ्य बिमा गरेको छ, अस्पतालमा खोप छैन’ टीकापुुर नगरपालिका वडा नं. ४ राजु चौधरीले भने ‘निजी क्लिनिक धाएर बल्ल बल्ल पाएपछि खोप लगाएका छौं, कतिपय बिरामीले निजीमा समेत रेबिज खोप पाएका छैनन् ।’
कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिज खोपको चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरु खोप नै नपाउने अवस्थामा पुगेका छन् ।