Hamro Patra
थोमस वर्गिसको बिँडो थाम्दै हिरण्य शर्मा

टीकापुर, बैशाख १२
हिरण्य शर्माले २०७३ सालदेखि टीकापुरको प्रतिष्ठित शैक्षिक संस्था खड्ग मेमोरियल सेकेण्डरी स्कुलको नेतृत्व सम्हाल्दै आएका छन् । २०४४ साल माघ १५ गते बीरेन्द्र विद्या मन्दिर नजिकैको ऐश्वर्य छात्रावासबाट सुरु भएको स्कुलमा हाल करिब १ हजार ३ शय विद्यार्थी अध्ययनरत छन् । यो बिच विधालयले थुप्रै आरोह अवरोह भोग्यो । २०५९ साल कार्तिक २९ गते विधालय तत्कालिन विद्रोही समूहको बम विस्फोटनको कारवाहीमा पर्यो ।

तत्कालिन सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट पढ्न आउने विद्यार्थी छात्रावासबाट फर्किए । विधालय २०५९ पछि केही वर्ष छात्रावास विद्यार्थी बिहिन जस्तै भयो । टीकापुर र आसपासका क्षेत्रबाट आउने विद्यार्थी मात्रै सिमित भए ।

khadga--(1)-1745560574.jpeg
२०७३ सालमा तत्कालिन प्रिन्सिपल रामबहादुर चौधरी अध्ययन विदामा गए । उनी २०५९ देखि प्रिन्सिपल  थिए । चौधरी विदामा गएपछि प्रिन्सिपलको जिम्मेवारी शर्माको काँधमा आयो । विद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी शर्माका लागि अवसर र चुनाैतीको विषय बन्यो । विधालयमा कार्यरत शिक्षक कर्मचारी र अभिभावकसँग सुमधुर सम्बन्ध कायम गर्दै उनले हिम्मतका साथ त्यो चुनौतीलाई स्विकारे ।

शर्माले जिम्मेवारी सम्हालेपछि अभिभावक भेटघाट अभियान सुरु गरे । उनले टीकापुर आसपासका क्षेत्रका अभिभावकलाई भेटे । ‘अभिभावकसँगको भेटघाटपछि विधालयमा थप विश्वासको वातावरण बन्दै गयो' उनले भने–‘टीकापुर आसपासभन्दा बाहिरका अभिभावक समेत बालबालिका पठाउन तयार भए ।’

शर्माले टीकापुरको शिक्षाका पर्याय रहेका थोमस वर्गिस संस्थापक प्रिन्सिपल रहेको विद्यालयको प्रतिस्ठा कायम राखेका छन । उनले विद्यार्थी संख्या बढाउन मात्रै पहल गरेका छैनन् भौतिक संरचना विकास र गुणस्तर कायममा समेत सफलता हात पारेका छन । गत वर्षदेखि निर्माण सुरु भएको २५ कोठे तीन तले भवन सम्पन्न हुँदैछ ।

उनले थप मेहनत गर्नका लागि शिक्षक तथा कर्मचारीलाई हौसला दिँदै गए । विद्यालयको शैक्षिक माहौलमा अझ सुधार ल्याए । अभिभावकसँगको सम्बन्धलाई निरन्तर बढाए । बिस्तारै टीकापुरको माहौल सुधार हुँदै गयो । टीकापुर आसपासको क्षेत्रबाट समेत विद्यार्थी आउन थाले । हरेक वर्ष विद्यार्थी संख्या बढ्दै  गयो । शर्माका अनुसार अहिले विद्यार्थी संख्या १ हजार ३०० भन्दा माथि पुगेको छ । अहिले छात्रावासमा समेत विद्यार्थीको संख्या बढेको छ । 

शर्माले टीकापुरको शिक्षाका पर्याय रहेका थोमस वर्गिस संस्थापक प्रिन्सिपल रहेको विद्यालयको प्रतिस्ठा कायम राखेकाका छन । उनले विद्यार्थी संख्या बढाउन मात्रै पहल गरेका छैनन् भौतिक संरचना विकासमा समेत सफलता हात पारेका छन । गत वर्षदेखि निर्माण सुरु भएको २५ कोठे तीन तले भवन सम्पन्न हुँदैछ । जसमध्ये ४ वटा कोठा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएका हुन भने बाँकी २१ कोठा विद्यालयको आफ्नै आम्दानीले तयार हुँदैछन । ‘भवन निर्माणमा करिब एक करोड असी लाख रुपैयाँ खर्च हुँदैछ’ उनले भने–‘यो सबै विद्यालयको आफ्नै आम्दानी हो ।’

khadga--(3)-1745560577.jpeg
विद्यालयले यसै वर्षदेखि ४९ लाखमा बस समेत किनेको छ । शर्माका अनुसार बस किन्नुपर्ने बाध्यता थिएन । तर विद्यार्थीको मनोभावना बुझेर उनले बस किन्नु परेको बताए । ‘कुनै खेल प्रतियोगिता हुन्छन । अरु विद्यार्थी आफ्ना स्कुलका बस चढ्छन । हाम्रा विद्यार्थी जितेर पनि अटो चढेर फर्किन्थे’ उनले भने–‘अब हाम्रा विद्यार्थी पनि पुरस्कार बोकेर बस चढेर फर्किने छन ।’

उनको आगामी योजना मण्टेश्वरी कक्षालाई सुविधा सम्पन्न बनाउने छ । उनी आफैलाई हाल सञ्चालित मण्टेश्वरी कक्षा चित्त बुझेको छैन । ‘ठाउँ साँघुरो भएर व्यवस्थित बनाउन सकिएको छैन’ उनले भने–‘अब नयाँ भवन पछि छुट्टै मण्टेश्वरी कक्षा बनाउने योजना    छ ।’

२०५२ सालमा अछामको श्रीकोटस्थित त्रिपुरा सुन्दरी माविबाट एसएलसी उत्तीर्ण गरेका शर्माले स्नातकसम्मको अध्ययन कैलाली बहुमुखी क्याम्पसबाट पूरा गरे । उनले त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन । २०५८ भदौ १४ गते नेपाली विषयको मावि शिक्षकका रुपमा विद्यालय प्रवेश गरेका शर्माले २०६६ देखि २०७३ सम्म लम्की बहुमुखी क्याम्पसको उपप्राध्यापकका रुपमा समेत काम गरे । उनी क्याम्पसमा स्थायी थिए । 

२०७३ मा उनका अघि दुईवटा विकल्प तेर्सिए । क्याम्पसको उपप्राध्यापक रोज्ने वा विद्यालयको प्रिन्सिपल । उनले विद्यालयको प्रिन्सिपल रोजे । ‘बालबालिकासँग रमाउने मेरो स्वभावले विद्यालय रोजे’ उनले भने–‘व्यक्तिगत लाभका लागि क्याम्पस रोजेको भए हुन्थ्यो कि भन्ने लाग्छ ।’ तर उनलाई विद्यालय रोजेकोमा कुनै पछुतो छैन । 

उनले केही समय बीरेन्द्र विद्या मन्दिर क्याम्पसमा स्नातकोत्तर तहमा आंशिक प्रध्यापन समेत गरे । उनलाई लगानीकर्ताका रुपमा केही निजी विद्यालय सञ्चालकले अफर समेत गरेका थिए । उनले विद्यालय छोडेनन् । 

khadga--(4)-1745560576.jpeg
उनी विद्यालय प्रवेश गरेको अर्को वर्ष २०५९ असारमा वर्गिस सर विदा लिएर गए । त्यही वर्ष कार्तिकमा विद्यालयमा बम बिस्फोट भयो । त्यसपछि वर्गिस सर शिक्षकका रुपमा टीकापुर फर्किएनन् । उनी कुनै अवसर पारेर पटक पटक टीकापुर फर्किएका छन । 

शर्मा वर्गिस सरलाई आराध्यदेवका रुपमा आदर गर्छन । उनी वर्गिस सरको व्यवहारबाट निकै प्रभावित भएको बताउँछन । ‘आराध्यदेव भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ तर जसले वर्गिस सरलाई बुझेको छ । उसका लागि आराध्यदेव नै हुनुहुन्छ’ उनले भने–‘त्यत्तिको व्यवहारिक व्यक्तित्व मैले अरु देखेको छैन ।’ उनले आफ्नो वर्गिस सरसँग अहिले पनि निरन्तर सम्पर्क हुने गरेको बताए । उनका अनुसार वर्गिस सर अहिले पनि विद्यालयको बारेमा चिन्ता गर्छन । 

यो सार्वजिक शैक्षिक गुठी हो । यसलाई सञ्चालक समितिले निर्देश गर्छ । यस विद्यालयका अभिभावक तथा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुबाट सञ्चालक समिति चयन हुन्छ । यसको वास्तविक नाम खड्ग मेमोरियल सेकेण्डरी स्कुल भए पनि वर्गिस स्कुलका नामले चिनिन्छ । टीकापुरका संस्थापक स्व. खड्गबहादुर सिंहको सम्झनामा स्थापना भएपनि विद्यालयको चलनचल्तीको परिचय भने संस्थापक प्रिन्सिपल थोमस वर्गिससँग जोडिन पुगेको छ ।  

युवाहरु विदेशीने क्रम बढेको छ । जसले यो देशमा युवा बस्नै मान्दैनन् भन्ने भाष्य विकास भएको छ । तर हाम्रो समाजमा थुप्रै युवाहरु छन । जसले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेका छन । टीकापुरमा थुप्रै युवाहरुले शैक्षिक संस्थाको नेतृत्व गरेर शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याईरहेका छन । लोकतन्त्र दिवसको अवसर पारेर हामीले शैक्षिक संस्थाको नेतृत्व गर्दै शिक्षा विकासमा योगदान पुर्याईरहेका तिनै युवाहरुको बारेमा थोरै भए पनि क्रमिक रुपमा लेख्ने प्रयास सुरु गरेका छौं । –सम्पादक ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update