Hamro Patra
​​​​​​​थुप्रै अवसर त्यागेर शिक्षण पेशामा रमाएका जयकृष्ण

टीकापुर, बैशाख ११
युवा पुस्ता अवसर खोज्दै विदेशीने क्रम बढेको छ । थुप्रै युवाहरु देश छोडेर हिँडेका छन । कैयौंले जन्मथलो छोडेका छन । पछिल्लो समय समाज युवा विहिन हुँदैछ भन्दा अन्यथा नहोला । ती युवाहरु जन्मथलो फर्किने कुराको ग्यारेन्टी छैन । 

तर टीकापुर नगरपालिका–१ का जयकृष्ण तिमिल्सिना यो कुराको अपवाद हुन । हरेक युवाले जान चाहेको देश अमेरिकाको अवसरलाई त्यागेर उनी २०६९ सालमा घर फर्किए । घर फर्किएका तिमिल्सिनासँग जीवन निर्वाहका लागि अन्य थुप्रै अवसर पनि थिए । उनले शिक्षाको ज्योति फैलाउने कुरालाई प्राथमिकतामा राखे । 

उनी शिक्षण पेशासँग जोडिए । अहिले उनी टीकापुरस्थित न्यू लाईट एजुकेशन होम हाकिरहेका छन । उनले २०७० सालमा सो विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हाले । करिव ६ सय विद्यार्थी रहेको विद्यालयमा अहिले १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छ । शिक्षक र कर्मचारी गरी ५२ जनाको टिमलाई तिमिल्सिनाले नेतृत्व गरिरहेका छन । 

विद्यालयले मन्टेश्वरीदेखी प्लसटु सम्मको अध्यापन गराउँदै आएको छ । प्लसटु तर्फ विज्ञान र होटल म्यानेजमेन्टको पढाई हुन्छ । उनी आफै पनि विज्ञान विषयका विद्यार्थी हुन । उनले विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको पढाई पूरा गरेका छन । 

सो विद्यालय टीकापुरमा औंलामा गणना हुने विद्यालय मध्ये पर्छ । तिमिल्सिनाको नेतृत्वदायी भूमिकाले विद्यालयको प्रगति सम्भव भएको हो भन्दा अन्यथा नहोला । विद्यालयमा अध्ययन गरेका थुप्रै विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन । उनीहरु कोही डाक्टर, कोही इन्जिनियर, कोही कर्मचारीका रुपमा कार्यरत छन । 

अब विद्यार्थीको उज्जवल भविष्य बनाउने अभियानमा तल्लिन तिमिल्सिनाको विगत तर्फ फर्किउ । उनले टीकापुरस्थित खड्ग मेमोरियल स्कुलबाट २०५५ सालमा एसएलसी पूरा गरे । एसएलसीमा राम्रो अंक प्राप्त गरेर उत्तीर्ण भएपछि उनी प्लसटु पढ्न काठमाण्डौं गए । उनले काठमाण्डौंको नोबेल एकेडेमीबाट प्लसटु उत्तीर्ण गरे । प्लसटुमा पनि उनको अंक राम्रै थियो । 

प्लसटुमा राम्रो अंक आउने अधिकांश विद्यार्थीको रोजाई हुन्छ एसबिबिएस पढेर डाक्टर बन्ने । उनले पनि त्यही बाटो रोजे । एमबिबिएसमा नाम निस्कियो । तर सरकारी कोटामा हैन पैसा तिरेर पढ्नु पर्ने भयो । उनका अनुसार पैसा तिरेर एमबिबिएस पढ्ने कुरा पारिवारिक वातावरणले सम्भव भएन ।

उनी सरकारी कोटामा पढ्न नपाए पछि विरक्तिए । २÷३ वर्ष अध्ययन रोकियो । यही बिचमा उनले लोकसेवाको परिक्षा दिए । नासुमा नाम निस्कियो । तर उनलाई कर्मचारी बन्न मन लागेन । उनी अन्तिम परिक्षाका रुपमा रहेको अन्र्तवार्तामा सहभागी भएनन् । 

उनले फेरी पढाईलाई निरन्तरता दिने निधो गरे । त्रिचन्द्रबाट बिएस्सी उत्तीर्ण भए । त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण गरेपछि उनलाई लाग्यो अब पिएचडी गरेर नामको अघि डा. लेख्नुपर्छ । उनले अमेरिकाबाट पिएचडी गर्ने तयारी गरे । सबै प्रकृया पूरा भयो । उनले अब सात समुन्द्र पारीको यात्रा तय गर्नुपर्ने भयो । 

आफ्नो व्यक्तिगत करिअर बनाउने योजना साथ अघि बढेका तिमिल्सिनाले त्यति नै बेला घर सम्झे । आमाबुबा सम्झे । फर्किएर घर आए । हरेकको सपनाको देश अमेरिकाको यात्रा सुरु नहुँदै अन्त्य गरिदिए । उनी परिवारको एक्लो छोरा हुन । आमाबुबाको बुढेशकालको सहारा । ‘आमाबुबालाई छोडेर अमेरिका जाने कुरा मनले मानेन’ उनले भने–‘सबै कुरा बिर्सेर घरमै बसे ।’

उनी शिक्षण पेशामा आवद्ध छन । तर उनलाई देशको शिक्षा नीति मन परेको छैन । उनी वर्तमान शिक्षा व्यवहारिक नभएको बताउँछन । उनी सर्टिफिकेटका लागि मात्रै सिमित शिक्षा अर्थोपार्जनसँग नजोडेसम्म व्यवहारिक नहुने बताउँछन । ‘शिक्षाले आर्थिक उन्नतीलाई मद्दत पुर्याउनु पर्छ’ उनले भने–‘सर्टिफिकेट बोक्यो विदेश हिड्यो । अहिलेको शिक्षा यस्तै छ ।’

उनले समाजमा नेतृत्व विकास हुन नसकेको बताए । उनी नेतृत्व विकासका लागि एउटा पुस्ताले त्याग गर्न आवश्यक रहेको बताउँछन । उनका अनुसार अग्रजले सिकाउने कुरा र व्यवहारमा लागु गर्ने कुरा बिचको भिन्नताले नेतृत्व विकास हुन नसकेको हो । ‘नेतृत्व भनेको नेता मात्रै हैन । समाजका हरेक पक्षको नेतृत्व सबल र सक्षम हुनुपर्छ’ उनले भने–‘त्यो नेपाली समाजका लागि हुनुपर्छ ।’

उनले शिक्षण पेशामा लागेर आफू व्यक्तिगत लाभका हिसाबले पछि परेको बताए । तर उनले समाजको चेतनाको वृद्धि विकासको गतिका हिसाबले हेर्दा सन्तुष्ट रहेको बताए । ‘समाजमा पक्कै पनि चेतनाको विकास भएको छ’ उनले भने–‘यसमा मेरो पनि केही योगदान छ भन्ने सोच्छु खुशी हुन्छु । यही नै मेरो सन्तुष्टी हो ।’

युवाहरु विदेशीने क्रम बढेको छ । जसले यो देशमा युवा बस्नै मान्दैनन् भन्ने भाष्य विकास भएको छ । तर हाम्रो समाजमा थुप्रै युवाहरु छन । जसले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेका छन । टीकापुरमा थुप्रै युवाहरुले शैक्षिक संस्थाको नेतृत्व गरेर शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याईरहेका छन । लोकतन्त्र दिवसको अवसर पारेर हामीले शैक्षिक संस्थाको नेतृत्व गर्दै शिक्षा विकासमा योगदान पुर्याईरहेका तिनै युवाहरुको बारेमा थोरै भए पनि क्रमिक रुपमा लेख्ने प्रयास सुरु गरेका छौं । –सम्पादक ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update