Hamro Patra
रानी, जमरा, कुलरिया सिचाईं आयोजनाको अतिक्रमण रोकिएन

परमानन्द पाण्डे
टीकापुर, २५ फागुन


राष्ट्रिय गौरबको आयोजना रानी, जमरा, कुलरिया सिचाईं आयोजना को मुख्य इन्टेक क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ ।


पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको आयोजनाको चिसापानी क्षेत्रमा आयोजनालाई प्रभाव पार्ने गरी भएको अतिक्रमण बढ्दै गएको हो ।

Khadga Memorial And Janajagriti


कर्णाली नदीको चिसापानी पुलबाट दक्षिणतर्फ निर्माण सम्पन्न भएको मुख्य इन्टेकलाई प्रभाव पार्ने गरी स्थानीयबाट भएको अतिक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
स्थानीय केही व्यवसायीहरुले इन्टेक क्षेत्र र नहरलाई प्रभावित गर्ने गरी अतिक्रमण गरेर पक्की संरचना बनाइरहेका छन् ।


एक वर्षअघि इन्टेक क्षेत्रबाट नहरसम्म एक शयको संख्यामा स्थानीयहरुले पक्की संरचना निर्माण गरेको भए पनि हाल उक्त संख्या बढेर एक शय पचास बढी पुगेको बताइन्छ ।
आयोजना शुरु हुनु अगावै सो क्षेत्रमा निर्माण गरिएका पक्की तथा कच्ची टहराको आयोजनाले चार वर्षअघि नै क्षतिपूर्ति दिइसकेको छ ।


आयोजनाबाट क्षतिपूर्ति लिई सक्दा पनि कतिपय स्थानीय व्यापारीले आयोजनाको क्षेत्रबाट संरचना नहटाएपछि दिनप्रतिदिन अतिक्रमण बढ्दै गएको हो ।


आयोजनाका डिभिजन इञ्जिनियर दिनेशचन्द्र भट्टका अनुसार स्थानीयबासी र केही व्यवसायीहरुले अझै पनि संरचना हटाएका छैनन् । मुख्य इन्टेकदेखि नहरसम्मको छेऊमा झण्डै एक शय पचास बढी घरहरु निर्माण गरेर अतिक्रमण भइरहेको हो ।


‘पटक–पटक संरचना हटाउन ताकेता गर्दा पनि अटेरी गरेर काम प्रभावित गरिरहेका छन्’– इञ्जिनियर भट्टले भने–‘इन्टेक क्षेत्रमा भएको अतिक्रमण हटाउन सरोकारवाला निकायसँग आयोजनाले समन्वय गरिरहेको छ ।’
मुख्य इन्टेकदेखि झण्डै दुई किलोमिटर क्षेत्रमा स्थानीयले अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्दै आइरहेका छन् ।


‘इन्टेक रहेको क्षेत्रमा गेट निर्माणको काम भइरहेको छ, गेट निर्माण गर्ने ठेकेदारले नै आयोजनाको क्षेत्रमा तारबार गर्ने गरी सम्झौता भइसकेको छ’–भट्टले भने–‘अतिक्रमण हटाएर तारबार गर्न स्थानीय तह, प्रहरी प्रसाशन र सुरक्षाकर्मीको सहयोग आवश्यक रहेको छ ।’


लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष भक्तबहादुर चलाउनेले आयोजनालाई प्रभावित गर्ने गरी भइरहेको अतिक्रमण हटाउन स्थानीय तह तयार रहेको बताएका छन् ।


‘आयोजनाबाट क्षतिपूर्ति लगिसकेपछि पनि संचरना हटाइनुको साटो बढ्दै गइरहेका छन्, यो दुःखद् कुरा हो’– वडाअध्यक्ष चलाउनेले भने–‘आयोजनाले स्थानीय तहसँग समन्वय गरे अतिक्रमण हटाउन आफूहरु सहयोग गर्न तयार छौं ।’


राष्ट्रिय गौरबको आयोजना रानी, जमरा, कुलरिया सिचाईं आयोजनाको मुख्य इन्टेक क्षेत्रमा अतिक्रमण हुनुले निर्माण कार्य समेत प्रभावित हुँदै आएको छ ।


इन्टेकमा प्रवेशद्वार, फूलबारी निर्माण गर्ने योजना रहेको भए पनि दिन प्रतिदिन भइरहेको अतिक्रमणले निर्माण कार्य प्रभावित हुन पुगेको छ ।


कैलालीको पूर्वीक्षेत्रको १८ हजार ३ शय हेक्टर र लम्कीदेखि पश्चिम सम्मको १४ हजार हेक्टर जमिनमा सिचाईं सुविधा पु¥याउने लक्ष्य रहेको छ ।


कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीलाई बृहत् सिँचाइको रूपमा विकास गर्न सरकारले यो आयोजना शुरु गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update