-1745390252.jpeg)
टीकापुर, बैशाख १०
कर्णाली नदीमा पानीको रंग फेरिएसँगै तटीय क्षेत्रका बासिन्दाको तनाव सुरु भएको छ । केही दिन अघिसम्म निलो देखिने पानीको रंग अहिले धमिलो देखिन थालेको छ । पहाडी क्षेत्रमा वर्षा भएसँगै नदीमा पानीको रंग फेरिएको हो ।
नदीमा पानीको रंग मात्रै फेरिएको छैन, पानीको सतह समेत बढेको छ । नदीमा पानीको सतहसँगै तटीय क्षेत्रका बासिन्दाको तनावको सतह पनि उस्तै बढ्न थालेको छ । वर्षायामसम्म जतिजति नदीमा पानीको सतह बढ्दै जानेछ त्यति नै तटीय क्षेत्रका बासिन्दाको तनावको सतह पनि बढ्दै जानेछ ।
यो समस्या तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको नियती हो । तर यस पटक भने तटीय क्षेत्रका बासिन्दा धेरै नै डराएका छन । उनीहरु नदी किनारको तटबन्ध भत्किए पछि विगत वर्षहरु भन्दा धेरै डराउनु स्वभाविकै हो ।
टीकापुर नगरपालिकाको पार्कदेखी कर्णाली–मोहना दोभानसम्मको अधिकांश ठाउँमा तटबन्ध जीर्ण छ । कतिपय ठाउँमा नदीले तटबन्ध बगाईसकेको छ । त्यहाँ कुनैपनि बेला नदी बस्तीतर्फ पस्ने खतरा छ । नदी बस्तीतर्फ पस्ने सबैभन्दा बढी खतरा टीकापुर नगरपालिका–५ दौलतपुरमा छ । त्यहाँ गतवर्ष समेत नदीले तटबन्ध भत्काएको थियो ।
नदीले भत्काएको तटबन्ध मर्मत गरिएको छैन । त्यस आसपासको दुई किलोमिटर तलमाथिको तटबन्धको अवस्था समेत जीर्ण छ । नदीमा पानीको सतह बढ्ने बित्तिकै कतिबेला बग्ने हो स्थानीयमा त्रास छ ।
स्थानीयले तटबन्ध भत्किएको ठाउँमा नदी कटान रोकथामका लागि पहल गरिदिन धेरै ठाउँमा भनसुन गरेका छन । उनीहरुले मुख्यमन्त्रीदेखी उपप्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाए । साँसद र मेयरलाई पटकपटक आग्रह गरे । उनीहरुका अनुसार अहिलेसम्म कसैले पहल गरेको छैन ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले भने नदी कटान रोकथामका लागि संघीय सरकारसँग पहल भैरहेको बताए । उनले सिँचाईमन्त्री दीपक खड्काले ज्ञापन पत्र बुझ्दै नदी कटान रोकथामको प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । ‘मन्त्रीज्यूले जसरी पनि काम गर्छु भनेर प्रतिवद्धता गर्नुभएको छ’ उनले भने–‘हामी काम हुनेमा आशावादी छौं ।’
दौलतपुरमा नदी बस्तीतर्फ पस्यो भने टीकापुर नगरपालिकाका ५ वटा वडाका बासिन्दा प्रभावित हुने देखिन्छ । स्थानीय शिवराज बुढामगरले वडा नम्बर ५, ६, ७, ८ र ९ का झण्डै ६ हजार घरपरिवार प्रभावित हुने बताए । उनले ५ वटा वडामा क्षतिको अवस्था भयावह हुने बताए ।
स्थानीयका अनुसार गतवर्ष नदी झण्डै गाउँ पसेको थियो । उनीहरुले जैविक तटबन्ध गरेर नदी कटान रोकेका थिए । उनीहरुको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत साथ दियो । पोहोर जेनेतन रोकेको नदी कटान यो वर्ष रोक्न सक्ने अवस्था नै छैन । नदीले तटबन्ध भन्दा बाहिरको भाग समेत कटान गरिसकेको स्थानीय धर्मराज जैशीले जानकारी दिए । ‘नदी किनारमा तटबन्ध नै बचेको छैन’ उनले भने–‘यो वर्ष नदीको बहावलाई रोक्न सकिदैन ।’
यहाँका स्थानीयले हरेक वर्ष डराई डराई बाँच्नु पर्छ । यसरी कहिलेसम्म बाँच्नुपर्ने हो उनीहरु स्वयम्लाई पनि थाहा छैन । टीकापुर नगरपालिका–५ कर्मिडाँडाका बडघर पूर्णराज बुढामगरले हरेक वर्ष मरेर बाँच्नुपर्ने वाध्यता रहेको बताए । उनले आफूहरुको पीडा कसैलाई महशुस नभएको दुःखेसो पोखे । ‘हरेक वर्ष यसरी नै बाँच्नु पर्छ’ उनले भने–‘हाम्रो पीडा सुनिदिने कोही छैन ।’
कर्णाली नदीको पश्चिम किनारा कैलाली तर्फ राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाले तटबन्ध गरेको छ । कतिपय ठाउँमा अहिले पनि तटबन्ध निर्माणको काम भैरहेको छ । कतिपय ठाउँमा ठेक्का भएर पनि तटबन्धको काम सुरु नै हुन सकेन । दौलतपुरमा तटबन्धको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाले काम नै सुरु गरेन । जसका कारण आयोजनाले निर्माण गरेको अन्य तटबन्ध नदीले बगाएको छ । एकातिर सिँचाई आयोजनाले तटबन्ध गरिरहेको छ भने अर्कोतिर निर्माण भएको तटबन्ध पनि नदीले वर्षेनी बगाईरहेको छ ।
स्थानीय अनन्त खड्काले सिँचाई आयोजनाले तटबन्धका नाममा गरेको लगानी नदीसँगै बगेर गएको बताए । ‘अहिलेसम्मको लगानी नदीमै बगेर गएको छ’ उनले भने–‘बचेको तटबन्ध पनि नदीमा बगेरै जाने हो ।’
स्थानीयको अनुभवले नदी कटान रोक्नका लागि तटबन्धको विकल्प खोज्नुपर्नेछ । पछिल्लो समय सिँचाई आयोजनाले समेत तटबन्धको विकल्प खोजेको देखिन्छ । उसले तटबन्धको विकल्पका रुपमा ‘बिग बोल्डर’ (ठूलठूला ढुंगा) प्रयोग गर्न थालेको छ । स्थानीयका अनुसार ‘बिग बोल्डर’ प्रयोग गरिएको ठाउँमा नदी कटान रोकिएको छ । ‘तटबन्ध भन्दा ढुंगाले नदी कटान रोकिएको छ’ स्थानीय खडानन्द जैशीले भने–‘अब तटबन्ध गरेर नदीमा बगाउनु भन्दा ढुंगाको प्रयोग गर्नुपर्छ ।’
तर, नदीको पूर्वी किनार बर्दियातर्फ भने तटबन्ध निर्माण भएको छ । स्थानीयका अनुसार त्यो तटबन्ध निकै बलियो छ । उनीहरुले बर्दियातर्फ तटबन्ध बनेपछि नदीको धार पश्चिम कैलालीतर्फ मोडिएको बताए । ‘गतवर्षदेखी नदीको धार यता मोडिएको छ’ स्थानीय नृप ठकुल्लाले भने–‘बर्दियातर्फको तटबन्धले हाम्रातिरको कटानी बढेको हो ।’
सिँचाई आयोजनाका अनुसार यो वर्ष नदी कटान रोकथामको प्रयास समेत हुने सम्भावना छैन । उसले रकम अभावको बहानामा नदी कटान रोकथाममा ध्यान दिएको छैन । आयोजनाका सूचना अधिकारी नविन पौडेलले दौलतपुरमा नदी कटान रोक्नका लागि रकम अभाव रहेको बताए । उनले माग गरिएको बजेट उपलब्ध नभएका कारण नदी कटान रोकथाममा समस्या हुने जानकारी दिए । ‘ठूलो रकम चाहिन्छ । हामीले रकम माग गरेर पठाएका थियौं’ उनले भने–‘आर्थिक अभाव देखाएर बजेट नै स्विकृत भएन ।’
स्थानीयका अनुसार कर्णाली नदीमा २०४० सालमा सबैभन्दा ठूलो बाढी आएको थियो । त्यो बाढीले तटीय क्षेत्रमा जनधनको क्षति पुर्याएको थियो । त्यसपछिका वर्षहरुमा समेत बेलाबेला बाढीले धेरैथोरै क्षति पुर्याउँदै आएको छ । नदी कटानको अवस्था हेर्दा फेरी एक पटक २०४० सालको जस्तै बाढी दोहोरिने पो हो कि भन्ने त्रासमा स्थानीय छन ।