
टीकापुर, बैशाख ८
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटको आकार घट्ने बताएका छन । टीकापुर नगरपालिका वडा नम्बर ७ बैदीमा निर्मित सामुदायिक भवनको आज उद्घाटन समारोहमा बोल्दै आर्थिक मन्दीले बजेटको आकार घट्ने बताए ।
उनले बजेटको आकार घट्ने भएपछि योजना छनौटमा ध्यान दिनुपर्ने बताए । उनले स्थानीय पालिकाले अनावश्यक बजेट कटौती गरेर आवश्यक ठाउँमा मात्रै बजेट विनियोजन गर्न सुझाव दिए ।
‘बजेटको आकार घट्दो छ । जनताको आकांक्षा बढ्दो छ’ उनले भने–‘हाम्रो काँधमा जिम्मेवार ढंगले प्रस्तुत हुने दायित्व बढेको छ ।’
उनले अन्तर्राष्ट्रिय सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले सबैको सहयोगमा समस्याको समाधान खोजेर जनचाहना पूरा गर्नुपर्ने बताए । उनले विभिन्न क्षेत्रमा दातृ निकायको सहयोग रहेको भन्दै दातृ निकायले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले जिल्लाको दक्षिण पूर्वी क्षेत्रका बासिन्दाले वर्षेनी बाढी र नदी कटानको समस्या भोग्दै आएको बताउँदै त्यसको उचित समाधान हुन नसकेको प्रति दुःख व्यक्त गरे । उनले भवन समस्याको बेला सहयोगी बन्ने बताए । ‘यसले विपदमा साथ दिनेछ’ उनले भने–‘यसको रेखदेख र स ञ्चालनमा ध्यान दिनु होला ।’
उनले सुदूरपश्चिम भुकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको बताए । उनले सुदूरपश्चिमका ९० प्रतिशत घर उच्च जोखिममा रहेकोले कुनैपनि बेला विपद आउन सक्ने बताए । उनले विपदको अवस्थामा सबै संवेदनशील हुन जरुरी रहेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र प्रति भ्रम फैलाउने काम भैरहेकोमा दुःख व्यक्त गरे । उनले केही समुहले भ्रम फैलाएर स्वार्थपूर्ती गर्ने काम गरेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै यही व्यवस्थाले जनताका हक अधिकार स्थापित गर्ने बताए ।