
टीकापुर, बैशाख ८
टीकापुर नगरपालिका वडा नम्बर ७ बैदीमा बहुउदेश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण भएको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर दातृ निकायको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।
भवन निर्माणमा परराष्ट्र मन्त्रालय जापान र वल्र्ड भिजन जापानले आर्थिक सहयोग गरेका छन । २०८१ जेठ महिनाबाट निर्माण सुरु भएको भवनमा १ करोड २० लाख ५९ हजार १२६ रुपैयाँ खर्च भएको बताईएको छ ।
सो भवन वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाजको साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद जोखिम न्यूनिकरण परियोजना अन्र्तगत निर्माण भएको हो ।
वल्र्ड भिजन नेपालका फिल्ड प्रबन्धक चेतराज भट्टराईले भवनबाट विपदको समयमा ४५ घरधुरीका बासिन्दा लाभान्वित हुने जानकारी दिए । उनले अन्य १९१ घरधुरीका बासिन्दाले समेत विभिन्न किसिमले भवनबाट लाभ लिनसक्ने बताए । भवनको संरक्षणको जिम्मा समुदाय स्तरीय विपद व्यवस्थापन समितिको रहने बताईएको छ ।
भवन निर्माणका लागि स्थानीय विष्णुराम जैशीले डेढ कठ्ठा जमिन निशुल्क प्रदान गरेका छन । सो अवसरमा जग्गादाता जैशीलाई सम्मान गरिएको छ ।
भवनको एक समारोहका बीच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन । भवनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका बासिन्दा लाभान्वित हुने बताए ।
सोही अवसरमा वल्र्ड भिजन नेपालका फिल्ड प्रबन्धक भट्टराईले टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुलाई १ लाख २२ हजार ८०३ रुपैयाँ बराबरको खोज उद्दार तथा अन्य व्यवस्थापन सामाग्री हस्तान्तरण गरेका छन । समारोहको अध्यक्षता गरिरहेका मेयर थारुले सो सामाग्री विपदको समयमा उपयोगी हुने बताए ।