Hamro Patra
मासु व्यवशायी भन्छन ‘खसी चोरीको आरोप लगाएर प्रहरीले बेलाबेलामा दुःख दिन्छ’

टीकापुर, बैशाख ८
टीकापुरमा रहेका मासु व्यवशायीहरु आन्दोलित भएका छन । प्रहरीले दुःख दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन । उनीहरुले व्यवशाय बन्द गरेका छन । 

उनीहरुले प्रहरीले बेलाबेलामा दुःख दिने गरेको आरोप लगाएका छन । प्रहरीले हिजो मात्रै एक व्यवशायीले गाउँबाट खरिद गरेर ल्याएको दुईवटा खसी पक्राउ गरेर भन्सार कार्यालय बुझाएको छ । 

व्यवशायी कलिम कुरेसीले जोशीपुर गाउँपालिका लक्कडबाट खरिद गरेर ल्याउँदै गरेको खसी प्रहरीले टीकापुर नगरपालिका वाणीस्थित पुलबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरको घुमुवा टोलीले खसी पक्राउ गरेको बताईएको छ । 

घुमुवा टोलीले ती खसीहरु भारतबाट चोरी निकासी गरेर ल्याएको दावी गरेको छ । पक्राउ गरेका खसी इलाका प्रहरी कार्यालय टीकापुरले सत्ती भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले भन्सार कार्यालयलाई बुझाएको पत्रमा ती खसीहरु भारतबाट चोरी निकासी गरेर ल्याएको उल्लेख गरेको बताईन्छ । 

भारतबाट चोरी निकासी गरेर ल्याएको पत्र सहित प्रहरीले खसी बुझाए पछि भन्सार कार्यालयले हिजै लिलाम गरेको छ । बरामद पशु चौपाया पक्राउ परेको २४ घण्टा भित्र लिलाम गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

मासु व्यवशायीले आफै लिलाम बोलेका छन । उनले खसी र मोटरसाइकल लिलाम सकारे वाफत ५० हजार रुपैयाँ तिर्नु परेको बताए । उनले ती खसी ४२ हजार ५ सय रुपैयाँमा खरिद गरेका थिए ।

मासु व्यवशायीले प्रहरीलाई सत्यतथ्य बुझेर मात्रै भन्सार बुझाउन आग्रह गरेका थिए । प्रहरीले उनीहरुको आग्रहलाई वेवास्ता गरेको थियो । ‘प्रहरीले हाम्रो कुरै सुनेन’ मासु व्यवशायीले भने–‘प्रहरीले बेलाबेलामा दुःख दिईरहन्छ ।’

मासु व्यवशायीले प्रमाण स्वरुप खसी बेच्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय टीकापुर र भन्सार कार्यालयमा समेत उपस्थित गराएका थिए । उनले प्रहरी सामु आफैले बेचेको भनेका पनि थिए । उनीसँगै छिमेकी समेत रहेका गाउँका बडघर समेत थिए । उनले समेत आफ्नै सामुन्ने खसी खरिद बिक्री भएको बताएका थिए । 

स्रोतका अनुसार हिजोको घटनामा पनि प्रहरीले मासु व्यवशायीसँग अपेक्षा राखेको थियो । तर मासु व्यवशायीले प्रहरीको अपेक्षालाई तत्काल पुरा गर्न सकेन । जसको परिणाम प्रहरीले मासु व्यवशायीलाई चोरी निकासीको आरोप लगाएर दुःख दियो । 

मासु व्यवशायीले यस्ता घटना बेलाबेलामा हुने गरेको बताए । उनीहरुका अनुसार ती मध्ये धेरैजसो घटना भन्सार कार्यालय त के प्रहरी कार्यालयमा समेत पुग्ने गरेका छैनन् । 

इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरिक्षक ईश्वर गिरीले मोटरसाइकलमा खसी बोकेर ल्याउने व्यक्तिसँग कुनै कागजात नभएका कारण पक्राउ गरेको बताए । उनले भारतबाट चोरी निकासी भएको आशंकामा पक्राउ गरेर भन्सार कार्यालय बुझाईएको बताए । उनले थप अनुसन्धान गर्ने जिम्मा भन्सार कार्यालयको भएको बताए । ‘हामीलाई शंका लागेर पक्राउ गरेको हो’ उनले भने–‘थप अनुसन्धान गर्ने काम भन्सारको हो । उसले गर्नुपर्ने हो ।’ 

उनले प्रहरीले बेलाबेलामा दुःख दिने गरेको मासु व्यवशायीको आरोपमा सत्यता नभएको बताए । उनले कुनै प्रहरीले त्यस्तो दुःख दिएको भए कारवाही गरिने बताए ।  

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update