-1745124861.jpeg)
टीकापुर, बैशाख ७
पर्यटकीय स्थलका रुपमा विकास भैरहेको लम्की नजिकैको आमपानी कुरुप बनेको छ । वनभोजका लागि जानेहरुले गरेको फोहोरका कारण आमपानीको अवस्था कुरुप देखिन थालेको छ ।
आमपानी लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकाको सिमानामा पर्छ । दुवै पालिकाले आफ्नो भुभाग दावी गरेपनि लम्कीचुहा नगरपालिकाले आमपानीको पर्यटकीय विकासका लागि केही संरचना निर्माण गरेको छ ।
यो ठाउँ चुरेको फेदीमा छ । लम्की बजारबाट झण्डै चार किलोमिटर उत्तर हिँडेपछि आमपानी पुगिन्छ । खासगरी गर्मीयाममा आमपानीको निकै चर्चा हुन्छ । यो समयमा आमपानी आन्तरिक पर्यटकले भरिन्छ । लम्की मात्रै नभई आसपासका पालिकाबाट समेत मानिसहरु त्यहाँ पुग्ने गरेका छन ।
आन्तरिक पर्यटकले भरिने गरेको आमपानी तिनै पर्यटकले गरेको फोहोरका कारण कुरुप बनेको छ । वनभोज स्थल वरपर मदिराका बोत्तल देख्न सकिन्छ । कतिपय बोत्तल फुटाएर छरपस्ट फाएिका छन । पानीका प्लाष्टिक बोत्तल समेत यत्रतत्र देख्न पाईन्छ ।
खोलाको पानी नजिकै जुठा भाँडा धोएको फोहोर थुप्रिएको छ । त्यहाँ समेत मदिरा र पानीका बोत्तल छन । प्लाष्टिक र अन्य फोहोरको थुप्रोले पर्यटकीय सम्भावनाका रुपमा अघि बढेको आमपानी दुर्घन्धित बनेको छ । यसको संरक्षणमा सरोकारवालाको ध्यान जान जरुरी छ ।