
टीकापुर, चैत २८
टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले पूरै प्यानल सहित जित हात पारेको छ । निर्वाचन समितिले आज दिउसो सुरु भएको मत गणनाको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।
नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार किरण साउँदले ६५२ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरेका छन । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका अर्का प्रत्यासी दिवाशिष जंग थापाले ४२ मत पाएका छन ।
कार्य समितिको सचिवमा नेविसंघकै छविलाल न्यौपाने विजयी भएका छन । उनले ६१९ मत प्राप्त गरेका छन । सचिवमा नागरिक विद्यार्थी समाजका आशिष चौधरी ५०३ मत प्राप्त गरी पराजित भएका छन । सचिव पदमै स्वतन्त्र उम्मेदवार रहेका लोकेश देवकोटाले ८४ मत प्राप्त गरेका छन ।
कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत सहित विजयी भएकी छन भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुदिप नेपालले ५३० मत पाएका छन ।
विजयी हुने सदस्यहरुमा सबै नेविसंघ आवद्ध उम्मेदवार रहेका छन । उनीहरु मध्ये समिक्षा शाहीले ७०३ मत, कुशल जैशीले ६९७ मत, शिशिर तिरुवाले ६९६ मत, आश्मा चौधरीले ७०४ मत, इशान लम्सालले ६५० मत, मनोज धामीले ६५६ मत, अनुषा कुमारी चौधरीले ६६३ मत र शिशिर रावलले ६२४ मत प्राप्त गरेका छन ।
सदस्य पदमा पराजित हुनेमा अनेरास्ववियुका अनमोल खड्का, अनेरास्ववियुकै जुनाकुमारी चौधरी डगौरा, अखिल क्रान्तिकारीका जोती सुनार, अखिल क्रान्तिकारीकै रिमाकुमारी चौधरी, नागरिक विद्यार्थी समाजका अन्जिना चौधरी, नागरिक विद्यार्थी समाजकै अनु चौधरी, अखिल समाजवादीका पल्लवी विक र अनेरास्ववियुका सपना रावल रहेका छन ।
निर्वाचनमा नेविसंघ विरुद्ध पाँचवटा विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका थिए । पाँचवटा विद्यार्थी संगठनको संयुक्त प्यानललाई हराउँदै नेविसंघले एकल जित हासिल गरेको छ ।
निर्वाचन समितिका अनुसार समानुपातिक तर्फ नेविसंघले ६८२, अनेरास्ववियुले ३१३, नागरिक विद्यार्थी समाजले १२७ र अखिल क्रान्तिकारीले ११८ मत प्राप्त गरेका छन । कुल खसेको १ हजार २५४ मत मध्ये १४ मत बदर भएको छ ।