
टीकापुर, चैत २८
टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको स्ववियु निर्वाचनको मत गणनामा सहमति जुटेको छ । विवादका कारण सुरु हुन नसकेको मत गणना कार्य केही समय भित्रै सुरु हुन लागेको निर्वाचन समिति संयोजक आत्माराम अधिकारीले जानकारी दिएका छन ।
उनले विवादका सबै विषयमा सहमति भएको बताए । उनका अनुसार वर्तमान स्ववियु सभापति नृपजंग थापालाई अनुगनमनका लागि मत गणनास्थलमा जान दिने सहमति भएको छ । उनको उपस्थितिमा पक्ष विपक्ष भएर संयुक्त प्यानल र नेविसंघबीच विवाद भएपछि मत गणना रोकिएको थियो ।
त्यस्तै तीनै जना अध्यक्षका उम्मेदवारलाई समेत मत गणनास्थलमा अवलोकनका लागि जान दिने सहमति भएको छ । संयोजक अधिकारीले प्रतिनिधि संख्या घटाउने बारेमा समेत सहमति जुटेको छ ।
उनका अनुसार उम्मेदवार रहेको संगठनलाई मात्रै मत गणनास्थलमा ३ जना प्रतिनिधि राख्न दिने सहमति भएको छ । यसअघि हरेक संगठनलाई ३/३ जना प्रतिनिधि राख्ने भनिएको थियो । उनले यति सहमति भएपछि केहीबेरमै मत गणना सुरु हुने बताए ।
स्ववियु निर्वाचनमा १ हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार कुल १ हजार ५८५ मध्ये १ हजार २५४ मत खसेको हो ।