
टीकापुर, चैत २८
टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत गणना रोकिएको छ । हिजै साढे ७ बजेबाट हुने भनिएको मत गणना अहिलेसम्म सुरु हुन सकेको छैन ।
वर्तमान स्ववियु सभापति नृपजंग थापालाई मत गणना स्थलमा जान दिने नदिने बारेमा दुई पक्षबीच विवाद हुँदा मत गणना रोकिएको बताईएको छ ।
मत गणना सुरु गर्ने क्रममा त्यहाँ रहेका सभापति थापालाई संयुक्त प्यानल पक्षले बाहिर पठाउन निर्वाचन समितिलाई दवाव दिएको थियो । यही विषयलाई लिएर उनीहरुले मत गणना सुरु गर्न रोकेका थिए ।
संयुक्त प्यानल पक्षले सभापति थापालाई बाहिर पठाउन दवाव दिएको कुरामा विरोध गर्दै नेविसंघले मत गणनास्थलबाट आफ्ना प्रतिनिधि फिर्ता पठाए पछि मत गणना सुरु नहुँदै रोकिएको निर्वाचन समिति संयोजक आत्माराम अधिकारीले जानकारी दिए ।
उनले सामान्य विषयलाई दुई पक्षले विवादित बनाएर मत गणना रोकिएको बताए । उनले मत गणना सुरु गर्न अहिले बिहान ८ बजे दलीय सहमतिको पहल गरेका छन । निर्वाचन समितिले निर्धारित समयसम्म दलका कुनै पनि प्रतिनिधि सहमतिका लागि नआएको बताएको छ ।
संयोजक अधिकारीले मौषम खराबीका कारण दलका प्रतिनिधि आउन ढिलाई भएको हुनसक्ने बताए । उनले दलको सहमति पछि मात्रै मत गणना सुरु हुने जानकारी दिए ।
हिजो सम्पन्न स्ववियु निर्वाचनमा १ हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार कुल १ हजार ५८५ मध्ये १ हजार २५४ मत खसेको हो ।
बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको छ । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ एक्लै र पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलले भाग लिएका छन । संयुक्त प्यानलमा संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका साथै नागरिक उन्मुक्तिको विद्यार्थी संगठन र विप्लव निकट विद्यार्थी संगठन समेत आवद्ध छन ।
संयुक्त प्यानलको नेतृत्व अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले गरेका छन भने नेविसंघले अध्यक्षमा किरण साउँदलाई अघि सारेको छ । एकजना देवाशिष जंग थापाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी रहेको छ ।
निर्वाचनमा समानुपातिकतर्फ चारवटा विद्यार्थी संगठन छन । जसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नागरिक विद्यार्थी समाज रहेका छन ।