Hamro Patra
लागु औषध सहित एकैदिन १२ जना पक्राउ 

धनगढी, चैत २७
कैलाली प्रहरीले हिजो मात्रै लागु औषध सहित १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । 

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी बरामद गरेको छ । 

प्रहरीले घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा छापा मारेको छ । इलाका प्रहरी कार्यालय सुखडको टोलीले सो घटनामा बर्ष २५ को गौरभ आचार्य, सोही ठाउँ बस्ने बर्ष ३४ को सुरेन्द्र श्रेष्ठ र बर्ष २२ को भिम बोहरालाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको छ । 

टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला  चेक पोष्ट नजिकबाट इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका वडा नम्बर १ एकतानगर शिविर बस्ने बर्ष १८ को सन्तोष बि.क. र सोही ठाउँ बस्ने वर्ष २३ की बन्दना बि.क. लाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट प्रहरीले चेकजाँच गर्दा १ ग्राम ४२० मिलिग्राम लागु औषध खैरो हेरोईन फेलापारी बरामद गरेको छ । 

त्यसैगरी धनगढी उपमहानगरपालिका स्थित बङ्गराकटान र त्रिनगर भन्सार नजिकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुहबाट खटीगएको प्रहरी टोलील धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २२ को विवेक राना, वडा नम्बर ७ बस्ने बर्ष १८ को आकाश राना, वडा नम्बर ९ बस्ने बर्ष २२ को भिम सुनार, सोही ठाउँ बस्ने बर्ष २६ को दिनेश बोहरा र सोही ठाउँको बर्ष २५ को विशाल बोहरालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उनीहरुको साथबाट ६६० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला परेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ ललिपुरघाट स्थित ईलाका प्रहरी कार्यालय बहुलिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटीगएको संयुक्त प्रहरी टोलीले  धनगढी उपमहानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २८ को रोहित बोगटी र वडा नम्बर ८ बस्ने बर्ष २२ को लोकेन्द्र खड्कालाई पक्राउ गरेको छ । 

प्रहरीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५ ग्राम ६६० मिलिग्राम लागु औषध खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारेको छ । 

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिएका छन ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update