
टीकापुर, चैत २६
कैलाली प्रहरीले दिनदिनै लागु औषध कारोवारीलाई पक्राउ गरिरहेको छ । लागु औषध कारोवारमा पक्राउ पर्नेमा अधिकांश युवायुवती रहेका छन । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँबाट लागु औषध खैरो हेरोईन सहित युवायुवती पक्राउ परेका छन ।
प्रहरीले आइतवार राति मात्रै ३ ग्राम ७६० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एन एस होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध कारोवार भैरहेको सूचनाका आधारमा होटलमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ८ का २० वर्षका सुरेश बिष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १० का २३ वर्षका लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का १९ वर्षका रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोककी १८ वर्षकी आशिका सिजापती रहेका छन ।
त्यस्तै प्रहरीले शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर २ कालिका टोलबाट समेत एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षका करन महरा रहेका छन । उनको साथबाट ५ ग्राम लागु औषध खैरो हेरोईन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र प्रहरी चौकी त्रिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको बताईएको छ । उनलाई प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा लागु औषध बरामद भएको हो ।
त्यस्तै प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट चैत २२ गते ५ जना, चैत २० गते समेत ५ जना, चैत १८ गते ७ जना, चैत १ गते २ जना, फागुन २९ गते २ जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
प्रहरीले पछिल्लो समय लागु औषध दुव्र्यसन रोकथाममा सकृयता बढाएको छ । प्रहरीको सकृयताले धेरै व्यक्तिहरु पक्राउ परेका छन । कैलाली र कञ्चनपुर जिल्ला लागु औषध दुव्र्यसन ओसारपसार हुने प्रमुख जिल्ला मध्ये पर्न थालेका छन ।
भारतीय सीमा क्षेत्रमा रहेका बजारमा सहजै पाईने लागु औषधले नेपाली युवायुवतीहरु दुव्र्यसनमा फस्ने क्रम बढेको छ । लागु औषधको सेवनले समाजमा अपराधिक घटना समेत बढेका छन ।