Hamro Patra
नागरिक र जनतमतबीच बैशाख १५ भित्रै एकता

टीकापुर, चैत २४
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच २०८२ बैशाख १५ भित्रै एकता हुने भएको छ । यस बारेमा दुई पार्टीका शिर्ष तहबीच सहमति भएको बताईएको छ । 

स्रोतका अनुसार दुई पार्टीबीच एकताको लगभग सबै तयारी पूरा भैसकेको छ । दुईवटै दलले गठन गरेका कार्यदलले मस्यौदा पेश गरेर केन्द्रिय समितिले अनुमोदन गरेपछि एकताको घोषणा गरिनेछ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कार्य समितिको बैठक बैशाख ३ गते टीकापुरमा बस्ने तय भएको छ ।

बर्दियामा दुई दलको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह हो । 

स्रोतले अन्य सहमतिका बारेमा एकता घोषणा भएपछि मात्रै सार्वजनिक गरिने बतायो । त्यतिञ्जेल सहमति नभएका विषयमा कार्यदलले छलफल गरेर टुंगो लगाउनेछ । नागरिकले साँसद गंगाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल बनाएको छ भने जनमतको कार्यदलमा साँसद अब्दुल खान संयोजक डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update