
सुख्खड, चैत्र २२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताएका छन् । कैलालीको घोडाघोडी तालक्षेत्रमा आज आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
‘केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो’ मुख्यमन्त्री शाहले भने ‘भ्रष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।’
मुख्यमन्त्री शाहले भने ‘बिवादित अडियो सर्न्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडि बढाउनु पर्दछ, यसमा मेरो व्यक्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ, दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’
अख्तियारले छानविन प्रक्रिया अगाडि बढाई सकेकाले यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गरे ।संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुनेमा जोड दिए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सुचारु हुनेमा बिश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक टिकाकुमारी भुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ वटा पालिकाको तर्फबाट घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले स्थानीय तहका समस्याहरू राखेका थिए ।
कार्यक्रममा १७ वटा सूचकका आधारमा तीनवटा पालिकालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिका रहेका छन् ।