
टीकापुर, चैत २२
कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले वडा नं. १ वनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ ।
विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ । पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्रदेखि संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ । यसका लागि २० लाख बजेटको व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।
‘अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिकाको आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’ अवस्थीले भने ‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिकाको जिम्मेवारी हो । उनीहरुले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ ।’
पालिकाले शैक्षिक वर्ष २०८२ देखि लागु हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको हो । केन्द्रमा पालिकाभित्रमा स्थायी बसोबास भएका बालबालिका बस्न पाउनेछन् । सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गत माघ ३ गते नै सूचना प्रकाशित गरिसकेको छ ।
अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ परिच्छेद ५ को उपदफा १ बमोजिम सूचना प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले बताए ।
‘पालिकाले छात्रावासका लागि बजेट विनियोजन गरेको छ, हामीसँग यसअघि नै छात्रावास छ’ उनले भने ‘विगतमा मुक्त कमलहरी बसिरहेका थिए । उनीहरुले कक्षा १२ सम्मको पढाई सकेकाले छात्रावास खाली थियो ।’
छात्रावासमा १६ वर्षमुनिका बालबालिकालाई मात्र भर्ना लिइनेछ । असहाय केन्द्रमा बस्नका लागि हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन् । पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ ।
जनप्रकाश आधारभुत विद्यालय वडा नं. ४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावकविहीन बालबालिकालाई विभिन्न संघसंस्थाले संरक्षण गरिरहेको अवस्थामा स्थानीय सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक रहेको बताए । ‘सरकार आफैँले बालबालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’ उनले भने ‘बालबालिकाको शिक्षामात्र नभई पोषण र सुरक्षामा समेत सहयोग पुग्छ ।’
अभिभावक विमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापनामा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउँछन् । ‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, संघसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’ उनले भने, ‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन् । यो राम्रो कार्य हो ।’
रासस