Hamro Patra
अपाङ्गता परिचय पत्र वितरण शिविर सम्पन्न 

टीकापुर, चैत ११
कैलालीको टीकापुर र भजनी नगरपालिकामा अपाङ्गता परिचय पत्र वितरण तथा सहायक सामग्री पहिचान र नापजाँच शिविर कार्यक्रम संचालन भएको छ ।

बाल कल्याण संघ टीकापुर र वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोग रहनुका साथै टीकापुर र भजनी नगरपालिकाले समन्वय गरेको थियो । 

कार्यक्रममा अपाङ्गता भएर जोखिममा परेकाहरुको जाँच गरि, आवश्यक सहायक सामग्री पहिचान गर्दै अपाङ्गता परिचय पत्र वितरण गरिएको थियो । 

शिविरबाट भजनी नगरपालिकामा ३० जनाको दर्ता  भएको छ भने ९ वटा नयाँ अपाङ्गता परिचय पत्र वितरण र २१ जनाको सहायक सामग्री पहिचान गरिएको भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिएका छन । 

उनले विनियोजित बजेट प्रयाप्त नभएकै कारण सहयोगी संस्था बाल कल्याण संघ टीकापुर, वल्र्ड भिजन ईन्टरनेसनल र  नेपाल राष्ट्रिय समाज कल्याण संघले समेत शिविरमा सहयोग गरिरहेको बताए । 

‘आर्थिक स्थितिका कारण अपाङ्गता सहायक समाग्री खरिद गर्न नसकेका व्यक्तिहरु पनि बाहिरको संसार हेर्न पाउनेछन’ उनले भने । 

त्यस्तै यता टीकापुर नगरपालिकाको वडा नम्बर १ र ७ मा पनि शिविर संचालन भएको छ । शिविरमा ५३ जनाको सहायक सामग्री पहिचान गरिएको छ । 

बाल कल्याण संघमा कार्यक्रम संयोजकको रुपमा कार्यरत राधिका गिरिले अपाङ्गता भएका व्यक्तिहरुको अवस्था दिनानुदिन नाजुक भएको महसुस गर्दै नगरपालिकाको समन्वयमा हातेमालो गरिरहेको बताईन । 

‘हामीले उदाहरणको रुपमा काम गरिरहेका छौ’ उनले भनिन्–‘सहयोगी संस्थाहरु सिमित समयको लागि मात्र हुने भएकाले पालिकाले नै यो क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गर्नुपर्छ ।’

अपाङ्गता भएर जोखिममा परेकाहरुको नापजाँच गरि, आवश्यक सहायक सामग्री पहिचान गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघले शिविरमा सहयोग गरिरहेको छ । यो कार्यक्रमले अति जोखिममा परेका अपाङ्ग व्यक्तिहरुलाई केही राहत हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update