Hamro Patra
रुपान्तरण कक्षाले आकाशको जीवनमा सकारात्मक परिवर्तन 

टीकापुर, चैत ९
टीकापुर नगरपालिका वडा नम्बर ७ डाँडाबोझीका आकाश चौधरीको जीवनमा रुपान्तरण कक्षाले सकारात्मक परिवर्तन ल्याएको छ । वल्र्डभिजन नेपालको आर्थिक सहयोग र बाल कल्याण संघ टीकापुरको आयोजनामा संचालित रुपान्तरण कक्षाले चौधरीको जीवनमा परिवर्तन ल्याएको हो ।

दुईचार जनाको अगाडि बोल्न असहज मान्ने आकाशमा अहिले आत्मविश्वास बढेको छ । ‘विद्यालयमा गुरुले अगाडि उभिएर बोल्न लगाउदा मेरो खुट्टा काप्थ्यो’ उनले भने–‘अहिले बोल्न सक्ने भएको छुँ ।’

उमेरले १८ वर्ष पुगेका चौधरी बोल्ने डरले आफू धेरै पछाडि परेको बताउँछन् । बोल्नु पर्याे भने खुट्टा काप्ने र डर लाग्ने आकाशलाई रुपान्तरण कक्षा लिए पछि भने अहिले यस्तो केही लाग्दैन । आफ्नो कुरा प्रस्ट राख्न र बहस गर्न सक्छन् । उनी टीकापुरको कर्णाली माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन । 

उनी कक्षामा आबद्ध भए पछि त्यो डर हराएको छ । अहिले मनका कुरा निर्धक्क भएर राख्ने क्षमतामा बिकास भएको छ । उनी भन्छन –‘केही बोल्न नजान्ने म पछि रूपान्तरण कक्षामा आबद्ध भएपछि धेरै परिवर्तन भएको छ । पहिलेको आफैलाई सम्झिदा लाज लागेर आउँछ । आफ्ना कुराहरु दुई जनाको सामुन्ने राख्न सक्ने भएको छु । यो परिवर्तन देखेर आफैलाई खुसी लागेको छ ।’

उनी लगायत थुप्रै बालबालिकामा यस्तो परिवर्तन वल्र्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजनाले गरेको हो । रूपान्तरण कक्षाबाट आत्म जागरण, लैङ्गिकता, घरेलु हिंसा, बालविवाह जस्ता व्यवहारिक कुराहरू उनी लगायत अन्य बालबालिकाहरूले सिक्न पाएका छन । आफुलाई आवद्ध गराउने साथी शिक्षक संगम चौधरीलाई धन्यवाद दिदै उनले कक्षामा सहभागी भएर ज्ञानगुनका कुरा सिक्ने मौका मिलेको बताए । 

उनी अहिले कक्षामा सिकेका ज्ञानगुनका कुराहरू अरूलाई पनि सिकाउने गर्छन । उनले रूपान्तरण कक्षामा सहभागी भएर बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा, व्यावसायिक तालिम, यौन तथा प्रजनन स्वास्थ्य र नागरिक सहभागिता जस्ता व्यवहारिक कुराहरू सिकेको बताए । 

उनी भन्छन–‘बुबा र आमाले भनेको नमान्ने । पढाइमा त्यति रुचि नदिने र मोबाइल चलाई राख्ने खराब बानी थियो । रूपान्तरण कक्षा लिई सकेपछि यी खराब बानी त्यागेको छु ।’

उनी रूपान्तरण शिक्षाले आफूमा धेरै असल बानीको बिकास भएको बताउँछन् । उनले जीवनोपयोगी रूपान्तरण कक्षाको सिकाइले म लगायत सहभागीहरूले सामाजिक रुढीवादी परम्परा, बालविवाह, कुसंस्कार र सामाजिक चिन्तन व्यवहार परिवर्तनका बारेमा शिक्षा हासिल गरेको बताए ।

रूपान्तरण कक्षा २६ हप्ता सम्म टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीमा सञ्चालन भईरहेको छ । रूपान्तरण कक्षामा करिब २२ जना बालबालिकाहरूको सहभागीता रहेको छ । कार्तिक महिनाबाट सुरु भएको  रूपान्तरण कक्षाले धेरै बालबालिकामा परिवर्तन आएको साथी शिक्षक संगम चौधरीले जानकारी दिइन् । 

उनले रूपान्तरण कक्षामा बाल अधिकार, बाल विवाह, बालश्रम, यौन हिंसा, घरेलु हिंसा, व्यावसायिक तालिम, यौन तथा प्रजनन स्वास्थ्य,असल बानी, पोषण तत्व, नागरिक सहभागिता जस्ता व्यवहारिक कुराहरू सिकाइएको जानकारी दिईन । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update