
टीकापुर, चैत ७
टीकापुर नगरपालिकाले गुलाबको बोट सिँचाईका लागि जोडेका खानेपानीका नौवटा मिटर चोरी भएका छन । नगर प्रमुखको सचिवालयका प्रमुख एलबी बुढाले गएराति मिटर चोरी भएको जानकारी दिए ।
प्रहरीले मिटर चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । गुलाबको बोट सिँचाईका लागि नगरपालिकाले जमरा पुलदेखी बसपार्कसम्म खानेपानीका ३२ वटा मिटर जडान गरेको छ । ती मध्ये नौवटा मिटर चोरी भएको बुढाले बताए ।
उनले गुलाबको बोट सिँचाईका लागि नगरपालिकाले थोपा सिँचाई प्रणालीको तयारी गरिरहेका बेला मिटर चोरी भएको जानकारी दिए ।
नगरपालिकाले टीकापुरलाई गुलाबको शहर बनाउने भन्दै जमरापुलदेखी बसपार्कसम्मको सडकको दुवैतर्फ गुलाबको बोट रोपेको छ । गुलाबको बोटलाई नियमित सिँचाई आवश्यक पर्ने भएकाले नगरपालिकाले खानेपानीको पाईप मार्फत सिँचाई गर्ने व्यवस्था गरेको छ ।