Hamro Patra
कार्यकक्षमा लागेको ताला खोल्नुको साँटो मेयरको वैकल्पिक कार्यकक्ष

टीकापुर, चैत ७
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि ताला खोल्न पहल गर्नुको साँटो वैकल्पिक कार्यकक्ष खडा गरेर कामकाज थालेका छन ।

उनको कार्यकक्षमा दुई साता अघि नगरपालिकाकै जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन । उनी आन्दोलनरत जनप्रतिनिधिहरुसँग संवाद नगरी नगरपालिका प्रशासनिक भवनको मुल ढोकामै वैकल्पिक कार्यकक्ष खडा गरेर बसेका छन । 

उनले वैकल्पिक कार्यकक्ष मार्फत कामकाज थालेर तालाबन्दीमा उत्रिएका जनप्रतिनिधिहरुलाई चुनौती दिएका छन । मेयर थारुले आन्दोलनरत जनप्रतिनिधिहरुसँग संवाद गर्नुको कुनै अर्थ नरहेको बताए । उनले जनप्रतिनिधिको जिम्मेवारी तालाबन्दी गर्ने नभई जनताको काम गर्नु भएको बताए । ‘कुनै जनताले ताला लगाएको भए सहमतिका लागि संवाद गर्थे’ उनले भने–‘जनप्रतिनिधि भएर ताला लगाउनेहरुसँग संवाद गर्नुको अर्थ छैन ।’

उनले विकास निर्माणका काममा अवरोध सिर्जना गर्न तालाबन्दी गरिएको आरोप लगाए । उनले आफ्नो विकासको रफ्तार देखेर केही जनप्रतिनिधि र राजनीतिक नेता कार्यकर्ताहरुलाई सह्य नभएको दावी गरे । 

उनले जनप्रतिनिधिहरुसँग उनीहरुले उठाएका मागका बारेमा तालाबन्दी अगावै थुप्रै पटक छलफल भएको बताए । उनले दुईवटा कार्यपालिका बैठकमा औपचारिक र कैयौं पटक अनौपचारिक ढंगले छलफल भएको जानकारी दिए । ‘अधिकतम लचकता अपनाएर पटकपटक कुरा गरिएको हो’ उनले भने–‘अब यो भन्दा धेरै लचक हुन सकिदैन ।’

तीन जना वडाध्यक्ष र चारजना कार्यपालिका सदस्यहरुले फागुन २३ गते मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चारजना कार्यपालिका सदस्यहरु दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन । उनीहरुले मेयरको कार्यकक्षका साथै प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।

उनीहरुले ४७ औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन । उनीहरुले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरुलाई गुमराहमा राखेको बताए । 

उनीहरुले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताएका छन । त्यस्तै अनुगमन समितिको संयोजकबाट कार्यपालिका सदस्य निसानीलाई हटाएको प्रति पनि उनीहरुले विरोध जनाएका छन । 

मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन । अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भएपनि उपमेयर खडकबहादुर शाह निलम्वनमा परेका छन । 

आन्दोलनरत वडा नं. १ का वडाध्यक्ष विश्वकर्माले मेयर थारु गैर जिम्मेवार ढंगले अघि बढेको बताए । उनले आफ्ना कमी कमजोरी ढाकछोप गर्न मेयरले विभिन्न किसिमका ‘फण्डा’ सिर्जना गर्ने गरेको आरोप लगाए । 
‘मेयर एकलौटी अघि बढेका छन’ उनले भने–‘यो उनका लागि दुर्भाग्य हुनेछ । हामी थप सशक्त भएर अघि बढ्ने तयारीमा छौं ।’

मेयर थारु तालाबन्दी हुनु अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राखेर केही दिनको लागि वैदेशिक यात्रामा निस्किएका थिए । उनी लाओसमा आयोजना भएको पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागीताका लागि वैदेशिक यात्रामा निस्किएका थिए । 

यता मेयर थारुले पत्रकार सम्मेलन गरेको पछिल्लो दिन वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले समेत पत्रकार सम्मेलन लगत्तै तालाबन्दी गरेका थिए । दुवै पक्षले संवादका माध्यमबाट समस्याको समाधान खोज्नु भन्दा एकअर्कालाई चुनौती दिने नीति लिएको देखिन्छ । मेयर थारु आवद्ध दल नागरिक उन्मुक्ति पार्टीबाट कार्यपालिका सदस्य रहेका व्यक्तिहरु नै आन्दोलनमा उत्रिएका छन । तीनजना वडाध्यक्ष मध्ये विश्वकर्मा एमाले, चौधरी र विक काँग्रेसबाट निर्वाचित हुन ।  
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update