
टीकापुर, चैत ६
कैलालीमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियुले शुन्य नतिजा हात पारेको छ । त्रिभुवन विश्व विद्यालय अन्र्तगत निर्वाचन सम्पन्न भएका नौ वटा क्याम्पस मध्ये पाँचमा काँग्रेस समर्थित नेविसंघ र चारमा माओवादी समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नेतृत्व जितेको छ ।
प्राप्त नतिजा अनुसार वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर, रघुनाथ आदर्श क्याम्पस जोशीपुर, फूलबारी क्याम्पस धनगढी, मोहन्याल क्याम्पस भजनी र ऐश्वर्य क्याम्पस धनगढीमा नेविसंघ र लम्की बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, बुलबुले क्याम्पस पहलवानपुर र खप्तड क्याम्पस मसुरीयामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जित हात पारेको छ ।
नेविसंघका तर्फबाट वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरको अध्यक्षमा गोपाल खत्री, रघुनाथ आदर्श क्याम्पस जोशीपुरको अध्यक्षमा रञ्जित परियार, फूलबारी क्याम्पसको अध्यक्षमा भुवन जोशी, मोहन्याल क्याम्पस भजनीको अध्यक्षमा झंकर बुढा र ऐश्वर्य क्याम्पस धनगढीको अध्यक्षमा दीपकराज भट्ट विजयी भएका छन ।
त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का तर्फबाट लम्की बहुमुखी क्याम्पसको अध्यक्षमा तपेन्द्र प्याकुरेल, राष्ट्रिय कलेज सुखडको अध्यक्षमा सुन्दर गौतम, बुलबुले क्याम्पस पहलवानपुरको अध्यक्षमा विवेक चौधरी र खप्तड क्याम्पस मसुरीयाको अध्यक्षमा सागर चौधरी विजयी भएको बताईएको छ ।
कैलालीका दुईवटा क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । विवादका कारण सुखडको घोडाघोडी क्याम्पस र बौनियाँको बर्दगोरीया क्याम्पसको निर्वाचन स्थगित भएको छ ।